तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक, उत्तरी क्षेत्रका बासिन्दालाई राहत

56 Shares

लामो समयदेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएपछि सङ्खुवासभाको उत्तरी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने भएको छ । भोटखोला गाउँपालिका–२ स्थित छुमसुरमा ठूलो चट्टानसहितको पहिरो खसेपछि अवरुद्ध बनेको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।

गत साउनमा पहिरो खसेपछि सडकमा सवारीसाधन आवतजावत ठप्प भएको थियो । चट्टानको आकार ठूलो र भौगोलिक अवस्था कठिन भएकाले सामान्य उपकरणबाट पहिरो हटाउन सम्भव नभएपछि नेपाली सेनाको सहयोग लिइएको थिए । सेनाले विस्फोट गराएर चट्टानलाई टुक्र्याएपछि सडक आयोजनाको टोलीले अवरोध हटाएको हो ।

सडक बन्द हुँदा उत्तरी क्षेत्रका स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि तथा निर्माण सामग्री ओसारपसारमा समस्या भोग्नुपरेको थियो । लामो समयसम्म यातायात प्रभावित हुँदा स्थानीयको दैनिक जीवन र बजारसँगको सम्पर्कसमेत कठिन बनेको हो । सडक खुलेपछि यात्रु तथा सामान ढुवानी गर्ने सवारीसाधनलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

खाँदबारी–किमाथाङ्का सडक नेपाल–चीन सीमावर्ती क्षेत्रलाई जोड्ने महत्त्वपूर्ण मार्ग हो । यस सडकको कुल लम्बाइ १६२ किलोमिटर रहेको । दुर्गम भूगोल र वर्षायाममा पहिरो खस्ने जोखिमका कारण सडक सञ्चालन चुनौतीपूर्ण रहँदै आएको छ । यातायात पुनः सञ्चालनमा आए पनि वर्षायाममा हुन सक्ने अवरोध रोक्न नियमित मर्मतसम्भार र जोखिमयुक्त स्थानको व्यवस्थापन आवश्यक देखिएको छ ।