दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

8 Shares

काठमाडौं । बडा दशैँ मनाउन काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । महानवमीसम्म सार्वजनिक बस, निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीमार्फत उपत्यका छाड्नेको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको हो ।

नेपाल प्रहरीले यस वर्षको दशैँ अवधिमा देशभरको शान्ति सुरक्षाको अवस्था सामान्य र सुदृढ रहेको जनाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेकाले हालसम्म कुनै गम्भीर प्रकृतिका आपराधिक घटना वा ठूला दुर्घटनाको जानकारी प्राप्त नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र नागरिकहरू सुरक्षित रूपमा आ–आफ्नो गन्तव्यमा पुग्ने क्रम जारी रहेको बताए ।

‘देशभरको शान्ति सुरक्षा अवस्था सामान्य र सुदृढ छ । बडादसैँको नवमीसम्म काठमाडौं उपत्यकाबाट करिब १० लाखभन्दा बढी यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएको रिपोर्ट प्राप्त भएको छ,’ काफ्लेले भने, ‘हालसम्म कुनै गम्भीर घटना, दुर्घटना वा अपराधको जानकारी प्राप्त भएको छैन ।’

चाडपर्वका बेला यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । ती कक्ष २४ सै घण्टा सञ्चालनमा रहेका छन् । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरी यात्रुका समस्या तथा गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

यस वर्ष प्रहरीले नागरिकको सहभागितामा आधारित ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ अभियानसमेत सञ्चालन गरेको छ । अभियानअन्तर्गत सर्वसाधारणबाट प्रहरीको आपत्कालीन नम्बर १०० मा सूचना प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको काफ्लेले बताए ।

‘यस वर्षको विशेष सुरक्षा योजनाअन्तर्गत नागरिकबाट सूचनाहरू प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको छ,’ उनले भने, ‘देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ ।’

प्रहरीले चाडपर्वका समयमा कुनै पनि अस्वाभाविक गतिविधि, शङ्कास्पद अवस्था वा आकस्मिक घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा तुरुन्त खबर गर्न आम नागरिकलाई आग्रह गरेको छ । नागरिकबाट प्राप्त सूचना र सहकार्यले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ ।