अविरल वर्षा, बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकलाई पुरानै अवस्थामा फर्काउन करिब ४ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा ठूलो क्षति पु¥याएको हो । मालढुंगादेखि जोमसोमसम्म करिब ६० स्थानमा क्षति पुगेको प्रारम्भिक विवरण छ । म्याग्दी, बागलुङ र पर्वत क्षेत्रमा सडक बगाउने, पहिरो खस्ने तथा पुलको पहुँचमार्गमा क्षति पुग्ने समस्या देखिएको छ । प्रारम्भिक मूल्याङ्कनमा भौतिक संरचनातर्फ मात्रै ९५ करोड रुपियाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।
क्षतिका कारण चीनसँग जोडिएको कोरला नाकासम्मको यातायात सम्पर्क दुई सातासम्म विच्छेद भएको थियो । अहिले सडक मर्मत गरिए पनि केही स्थानमा साँघुरो सडक र कमजोर भौगोलिक अवस्थाका कारण ठूला कन्टेनर सञ्चालनमा कठिनाइ रहेको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका विभिन्न स्थान बाढीपहिरो र नदी कटानको उच्च जोखिममा छन् ।
वर्षायाममा सडक सञ्चालनमै समस्या हुने यस क्षेत्रमा यस पटक नयाँ पहिरो र चर्किएको पहाडले जोखिम थप बढाएको छ । सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र सहज बनाउन थप पुनर्निर्माण आवश्यक देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया