दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

10 Shares

काठमाडाैँ । जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ ।

कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँ–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त अभियान सुरु गरेको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

दसैँको अवसरमा कात्तिक ३ गतेदेखि ६ गतेसम्म तथा तिहारको अवसरमा कात्तिक २४ गतेदेखि २६ गतेसम्म निःशुल्क यातायात सेवा अभियान सञ्चालन गर्ने तयारी गरिएको संयोजक सञ्जयकुमार राईले जानकारी दिएका छन् ।

“यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ”, उनले भने । अभियानका क्रममा महिला, बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिएका छन् । अभियानमा पुरुषलाई पनि आवश्यकताअनुसार सेवा दिइनेछ ।

अभियानमा सहभागी हुन ३५ जना युवाले नाम दर्ता गराएका छन् । “स्वयंसेवा गर्न इच्छुक युवा थपिने क्रम जारी छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने योजना बनाएका छौँ”, उनले भने । उनका अनुसार सेवा लिन चाहनेले पनि विवरण टिपाउन थालेका छन् । सुरुमा विवरण टिपाएकालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क यातायात सेवा दिइनेछ ।

निःशुल्क सेवा लिन चाहनेले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला साथमा राख्न सक्नेछन् । जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिएका छन् ।

यो समूहले अभियानमार्फत २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनालाई उक्त सेवा दिएको थियो । शुभेच्छुकहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब चार लाख रुपैयाँ खर्च हुने गरेको जनाइएको छ ।