ओखलढुङ्गामा करेन्ट लागेर महिलाको मृत्यु

9 Shares

ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५४ वर्षीया ठगमाया बास्तोला रहेकी छन् ।

घर नजिकै रहेको विद्युत्को खम्बाबाट झरेको तारमा प्रवाह भइरहेको करेन्ट लाग्दा बास्तोलाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार विद्युत्को खम्बाबाट झरेको तारबाट प्रवाहित करेन्ट लागेर उनको मृत्यु भएको हो ।

घटनापछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाउँदै बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जनाएको छ ।

विद्युत्को तार भुइँमा झरेर करेन्ट प्रवाह हुँदा भएको यस घटनाले खुला तथा असुरक्षित विद्युत् तारबाट हुन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ । यस्ता घटनाबाट बच्न विद्युत्का तार तथा खम्बामा समस्या देखिएमा नजिक नजान र सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आवश्यक देखिन्छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।