गजुर नभएको बज्रबाराही मन्दिर :आस्था, किंवदन्ती र प्रकृतिको अनौठो संगम

47 Shares

ललितपुरको गोदावरी नगरपालिका–११, चापागाउँस्थित बज्रबाराही मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्त्व र प्राकृतिक सुन्दरताका कारण परिचित छ । हरियाली वनको बीचमा रहेको दुईतले प्यागोडा शैलीको यस मन्दिरको सबैभन्दा विशिष्ट विशेषता यसको छानामाथि गजुर नहुनु हो ।

यही विशेषताले मन्दिरलाई अन्य धार्मिक स्थलभन्दा फरक पहिचान दिएको छ । मन्दिरमा गजुर नहुनुको कारणबारे स्थानीय समुदायमा विभिन्न किंवदन्ती प्रचलित छन् । मन्दिर निर्माण एकै रातमा सम्पन्न गर्ने क्रममा बिहान भाले बासेपछि गजुर राख्न नभ्याइएको हो । अर्को कथनमा गजुर राख्ने विषयसँग जोडिएको सपना र धार्मिक मान्यताका कारण गजुर स्थापना नगरिएको बताइन्छ ।

यी कथनहरू स्थानीय जनविश्वासमा आधारित छन् । बज्रबाराही मन्दिरको धार्मिक महत्त्वसँगै यसको ऐतिहासिक पक्ष पनि उत्तिकै उल्लेखनीय छ । पाटनका राजा श्रीनिवास मल्लले नेपाल संवत् ७८६ मा मन्दिर स्थापना गराएका थिए । यहाँ बज्रबाराही देवीको पूजा तान्त्रिक विधिअनुसार गरिन्छ ।

देवीको दर्शन तथा पूजाआराधना गर्न विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्छन् । मन्दिरमा वर्षमा दुईपटक जात्रा मनाउने परम्परासमेत रहेको छ । मन्दिर वरपरको वन क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । विभिन्न प्रजातिका वनस्पति तथा चराचुरुङ्गीको बासस्थान रहेको यस क्षेत्रले धार्मिक पर्यटनसँगै प्रकृतिप्रेमीलाई पनि आकर्षित गर्छ ।

धार्मिक विश्वास, ऐतिहासिक सम्पदा र हरियाली वातावरणको संयोजनले बज्रबाराहीलाई ललितपुरको विशिष्ट सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रूपमा स्थापित गरेको छ ।