अफ्रिकी मुलुक केन्यामा घातक इबोला भाइरसको सङ्क्रमण दोस्रो व्यक्तिमा पनि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दोस्रो सङ्क्रमित फेला परेको पुष्टि गर्दै यसअघि सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका नजिकका पारिवारिक सदस्यमा भाइरस देखिएको जनाएको छ ।
यससँगै केन्यामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ । ३९ वर्षीय पुरुषमा ज्वरो, अत्यधिक थकान र जोर्नी दुख्नेजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । राष्ट्रिय भाइरोलोजी सन्दर्भ प्रयोगशाला र केन्या मेडिकल रिसर्च इन्स्टिच्युटमा गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो ।
उनलाई विशेष उपचार केन्द्रमा राखेर स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको छ । पहिलो सङ्क्रमितसँग निकट सम्पर्कमा रहेका उनी पहिलेदेखि नै क्वारेन्टिनमा रहेकाले समुदायमा सङ्क्रमण फैलिने जोखिम कम रहेको अधिकारीहरूले बताएका छन् । केन्यामा अक्टोबर ६ मा पहिलो इबोला सङ्क्रमण पुष्टि भएको थियो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सात वर्षदेखि बस्दै आएका एक केन्याली नागरिक स्वदेश फर्किएपछि सङ्क्रमित भएको पाइएको थियो ।
गम्भीर उपचारका बाबजुद उनको अक्टोबर ५ मै मृत्यु भएको थियो । त्यसपछि स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान र निगरानीलाई तीव्र बनाएका छन् । इबोला सङ्क्रमण थप फैलिन नदिन केन्याले सीमा नाका र स्वास्थ्य संस्थाहरूमा निगरानी कडा पारेको छ ।
दोस्रो सङ्क्रमितको समयमै पहिचान र आइसोलेसनले समुदायमा भाइरस फैलिने जोखिम घटाउन सहयोग पुगेको अधिकारीहरूको भनाइ रहेको छ । स्वास्थ्य निकायहरूले सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको निगरानीलाई निरन्तरता दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया