काठमाडौं । पाकिस्तानको पन्जाव प्रान्तको मुल्तान जिल्लामा मंगलवार बिहान भएको भीषण रेल दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । कराचीबाट पेशावरतर्फ जाँदै गरेको ‘रहमान बाबा एक्सप्रेस’ रेलका १४ वटै डिब्बा लिकबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको हो ।
प्रहरी स्रोतकाअनुसार मंगलबार बिहान रेल दुर्घटनामा परेपछि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्कालै नजिकैको अस्पतालमा पुर्याएर उपचार शुरु गरिएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दुर्घटनालगत्तै सो खण्डमा रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ । अलपत्र परेका यात्रुहरूलाई सुरक्षित रूपमा पेशावरसम्म पुर्याउनका लागि रेलवे विभागले अर्को विशेष रेलको व्यवस्था गरेको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ र भत्किएका रेलका डिब्बाहरू हटाउने काम भइरहेको छ ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ । प्रारम्भिक अनुसन्धानबाट रेल किन र कसरी लिकबाट बाहिरियो भन्नेकुरा स्पष्ट हुन सकेको छैन । प्राविधिक त्रुटी वा लिकको खराबीका कारण यो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। सम्बन्धित अधिकारीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय टोली गठनको तयारी गरिरहेको जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया