स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनद्वारा पदबाट राजीनामा दिने घोषणा

13 Shares

एजेन्सी । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।

उहाँले संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार ३ सय ४९ सदस्यीय संसद्मा चार विपक्षी दलले १ सय ७६ सिट जितेका छन् । सत्तारूढ गठबन्धनमा रहेका चार दलले भने १ सय ७३ सिट पाएका हुन् ।

दुई पक्षबीच झण्डै ५० हजार मतको मात्र अन्तर रहेको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनुभयाे । अब नयाँ सरकार गठनको प्रक्रिया संसद्का सभामुखको नेतृत्वमा अघि बढ्नेछ । पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको हाे।

एन्डरसनले सन् २०२२ मा गुमाएको प्रधानमन्त्री पदमा पुनः फर्कने सम्भावना बढेको छ । तर, सरकार गठनका लागि उहाँलाई गठबन्धनभित्रका दलबीचको वैचारिक मतभेद मिलाउनुपर्ने चुनौती छ । विपक्षी गठबन्धनमा सामाजिक लोकतान्त्रिक पार्टीसँगै वामपन्थी पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका हुन् । सेन्टर पार्टीले वामपन्थी पार्टीलाई सरकारमा मन्त्री पद दिएर सरकार गठन गरेमा समर्थन नगर्ने जनाएकाे छ।

संसद्ले नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता सेप्टेम्बर २९ तारिखमा मतदान गर्न सक्ने जनाएको हाे। यसैबीच, आप्रवासनविरोधी स्विडेन डेमोक्र्याट्सले यसपटक समर्थन गुमाएको छ । उसले १७ दशमलव ५ प्रतिशत मत पाएको हाे। जुन सन् २०२२ को निर्वाचन भन्दा करिब ३ प्रतिशत बिन्दुले कम हो ।