काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका र आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको विषयले प्रतिनिधिसभामा प्रश्न उठेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आईसीयूमा उपचाररत बिरामीसँग गरिएको अन्तर्वार्ताको नैतिकता र स्वास्थ्य पत्रकारिताको सीमामाथि प्रश्न उठाएकी हुन् ।
यसअघि एक युट्युब च्यानलमार्फत सुरुङबाट उद्धार भई आईसीयूमा उपचाररत व्यक्तिसँग गरिएको अन्तर्वार्ता सार्वजनिक भएको थियो । उक्त अन्तर्वार्ताप्रति आपत्ति जनाउँदै सांसद बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको संवेदनशीलता, गोपनीयता र स्वास्थ्य सुरक्षामाथि प्रश्न उठ्ने गरी सामग्री सार्वजनिक गरिएको बताइन् ।
उनले आईसीयू अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताइन् ।
सांसद बास्कोटाले परिवारका सदस्यलाई समेत निश्चित समयका लागि मात्र भेट्न दिइने अवस्थामा सञ्चारमाध्यमबाट आईसीयूभित्रै अन्तर्वार्ता लिनु कति नैतिक अभ्यास हो भन्ने प्रश्न गरिन् ।
उनले भनिन्, ‘अस्पतालको आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेको बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई समेत निश्चित समयका लागि मात्र भेटघाट गर्न दिइन्छ ।’
उनले दुई दिनअघि सार्वजनिक भएको अन्तर्वार्ताले स्वास्थ्य क्षेत्रको संवेदनशीलतामाथि प्रश्न उठाएको बताइन् ।
‘तर दुई दिनअघि सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ । यसले केही प्रश्नसमेत खडा पारेको छ । अस्पतालमा उपचाररत बिरामी, अझ आईसीयूमै लिनु वा लिन स्वीकृति दिनु कति इथिकल अभ्यास हो ? विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’ उनले प्रश्न गरिन् ।
बाढी तथा अन्य विपद्का समयमा पीडितको अवस्था सार्वजनिक गर्ने क्रममा बिरामीको स्वास्थ्य, गोपनीयता र सम्मानलाई समेत ध्यान दिनुपर्ने विषय सांसद बास्कोटाले उठाएकी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया