भोटेकोशी बाढीपीडित १६५ परिवारलाई पोखरा महानगरको राहत

12 Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का १ सय ६५ परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले ६ वटा ट्रकमार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहबरमा वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार करिब ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् ।

राहतमा चामल, तेल, लत्ताकपडा, सिरक, डसना, चम्चादेखि खाना पकाउने कुकरसम्मका सामग्री रहेका छन् । पोखरा महानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक हरि थापाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण तथा वितरण गरेको हो ।

विपद्को कठिन समयमा ठूलो परिमाणमा व्यवस्थित राहत उपलब्ध गराएको भन्दै उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पोखरेली जनताप्रति आभार व्यक्त गरेका छन् ।

बाढीपछि विस्थापित परिवारका लागि नीलकण्ठ माध्यमिक विद्यालयमा होल्डिङ सेन्टरसमेत सञ्चालन गरिएको थियो । तत्काल खाद्यान्न अभाव भएपछि स्थानीयस्तरमै उपलब्ध चामल पकाएर प्रभावितलाई खाना खुवाइएको र त्यसपछि कालिका तथा नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न सहयोग प्राप्त भएको अध्यक्ष अर्यालले बताए ।

अहिले गाउँपालिका राहत तथा पुनःस्थापनाको चरणमा रहेको भन्दै अध्यक्ष अर्यालले देशभरबाट विभिन्न स्थानीय तह, गैरसरकारी संस्था, राजनीतिक दलका भ्रातृ संगठन, व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको जानकारी दिए ।

अध्यक्ष अर्यालका अनुसार भोटेकोशी बाढीबाट उत्तरगया गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

उनले भने, ‘अहिले हामी राहत र सहयोगको चरणमा छौँ । यस विपद्मा देशभरिबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, व्यक्ति, पोखरा महानगरपालिका लगायत विभिन्न नगरपालिका तथा स्थानीय तह, राजनीतिक दलका भ्रातृ संगठनलगायतबाट अभूतपूर्व सहयोग प्राप्त भएको छ ।’

‘उहाँहरूले राहत सामग्री संकलन, हस्तान्तरण र पीडितसमक्ष पु¥याउन महत्वपूर्ण योगदान गर्नुभएको छ,’ उनले भने ।

बाढीबाट गाउँपालिकामा ६ सय १४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २२ वटा गोठमा क्षति पुगेको छ । करिब २ हजार परिवार प्रभावित भएका छन् । अध्यक्ष अर्यालका अनुसार ७ सय ७४ जना बेपत्ता रहेको विवरण छ भने ११ जनाको पहिचान भएको छ ।

बाढीमा परिवार तथा कार्यालयका सदस्यसहित ५ जनाको मृत्यु भएको तथा शिक्षक र कर्मचारी गरी १० जनालाई गुमाएको अध्यक्ष अर्यालले बताए ।

उनका अनुसार दुई सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । वडा कार्यालय, स्वास्थ्य चौकी तथा गाउँपालिकाका कार्यालयसमेत बगरमा परिणत भएका छन् । स्वास्थ्य चौकीमा कार्यरत एक जना अनमी अझै बेपत्ता छन् ।

बाढीले गाउँपालिकाको एउटा सवारीसाधन र दुईवटा एम्बुलेन्ससमेत बगाएको छ । ‘अहिले हामीसँग कुनै पनि सवारीसाधन छैन,’ अध्यक्ष अर्यालले भने, ‘दक्ष कर्मचारीको क्षतिले पालिकाको सेवा प्रवाहमा समेत गम्भीर असर परेको छ ।’

बाढीले रसुवा जिल्लाभित्र रहेका विभिन्न जलविद्युत आयोजनाका बाहिरी संरचनामा समेत ठूलो क्षति पुगेको छ । अध्यक्ष अर्यालले विपद्ले भौतिक संरचना मात्र नभई जिल्लाले लामो समय लगाएर निर्माण गर्दै आएको जनशक्ति र विकासको आधारमा समेत गम्भीर क्षति पु¥याएको बताए ।

उनका अनुसार नदी तटीय क्षेत्रका सबै उमेर समूहका नागरिक प्रभावित भएका छन् ।

विपद्को समयमा उद्धारका लागि आवश्यक पूर्वतयारी तथा राज्यका निकायबीच पर्याप्त समन्वय हुन नसकेको भन्दै अध्यक्ष अर्यालले आगामी दिनमा यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

अहिले भने प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने, विस्थापितको व्यवस्थापन गर्ने तथा ध्वस्त संरचनाको पुनःस्थापनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

भोटेकोशी बाढीले उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति पु¥याएपछि स्थानीय तहसँगै विभिन्न संघसंस्था, स्थानीय तह, राजनीतिक संगठन तथा व्यक्तिहरूले राहत र पुनःस्थापनामा सहयोग गरिरहेका छन् ।