भोटेकोशी बाढीको १७औँ दिनसम्म १ हजार ३८५ शव फेला, ५ हजार १३० अझै बेपत्ता

10 Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत २६ अगस्टमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म १ हजार ३ सय ८५ जनाको शव फेला परेको छ ।

सरकारका अनुसार बाढीमा अझै ५ हजार १ सय ३० जना बेपत्ता छन् । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले रसुवा, नुवाकोट र धादिङलगायत तटीय क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बताए ।

बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत रहेको क्षेत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ३२० भन्दा बढी विदेशी नागरिकसहित कुल १३ हजार ६ सय ७६ जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै अद्यावधिक हुन सक्ने उनले बताए ।

‘खोजी तथा उद्धार कार्य अहिले पनि निरन्तर जारी रहेकाले हताहती र बेपत्ताको यो संख्या अझै अद्यावधिक हुन सक्छ । शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेका छन्’, क्षेत्रीले भने ।

भविष्यमा डीएनए परीक्षणका आधारमा शव आफन्तलाई बुझाउन सहज हुने गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई अस्थायी रूपमा समाधिस्थ गर्ने काम भइरहेको उनले बताए ।

सरकारले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्यांकन’ (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट १ अर्ब ८० करोड अमेरिकी डलर अर्थात् करिब २ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

यस्तै, ८८ करोड ३० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ ।

समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि ४ अर्ब ७८ करोड अमेरिकी डलर अर्थात् झण्डै ६ खर्ब ४० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको क्षेत्रीले बताए ।

उनका अनुसार आगामी ६ महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै ५ करोड ७६ लाख अमेरिकी डलरभन्दा बढी बजेट आवश्यक पर्ने देखिएको छ ।

क्षतिको अन्तिम तथा विस्तृत विवरण तयार गर्न सरकारले ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ (पीडीएनए) प्रक्रिया समेत अघि बढाइसकेको उनले जानकारी दिए ।

बाढीले पुरिएका जलविद्युत् आयोजनाका सुरुङ तथा जटिल भग्नावशेषभित्र खोजी तथा उद्धारका लागि विदेशी प्राविधिक टोलीसमेत परिचालन गरिएको क्षेत्रीले बताए ।

‘सुरुङभित्रको जटिल उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू अहोरात्र खटिरहेका छन्’, उनले भने ।

यस्तै, संयुक्त अरब इमिरेट्स, मलेसियाको ‘स्मार्ट’ र अस्ट्रेलियाको ‘डार्ट’ टोलीले समेत स्थलगत खोजीमा सहयोग गरिरहेको उनले जानकारी दिए ।

बाढी प्रभावित सीमावर्ती क्षेत्रबाट चिनियाँ अधिकारीहरूको सहजीकरणमा तातोपानी नाका हुँदै हालसम्म ७ सय ६८ जना नेपाली नागरिकलाई सकुशल स्वदेश फर्काइएको पनि उनले बताए ।

विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा प्राविधिक सहायता जुटाउन उच्च तहबाट कूटनीतिक संवाद भइरहेको क्षेत्रीले बताए ।

‘प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान मात्रै न्यूजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी सहयोग र सहकार्यबारे छलफल गर्नुभएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्री मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर संवादमा हुनुहुन्छ’, उनले भने ।

घटनास्थलको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै नेपाल सरकारले उच्च क्षमतायुक्त ड्रोन, जमिनमुनि हेर्न सकिने लिडार प्रणाली, पानीमुनि खोजी गर्ने अन्डरवाटर ड्रोन, बेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट तथा उच्च क्षमताका पम्प उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसमक्ष औपचारिक आग्रह गरिसकेको उनले बताए ।

भौतिक पूर्वाधार पुनर्बहालीतर्फ गल्छी–त्रिशूली सडक खण्डको देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडान सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइएको क्षेत्रीले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार, विद्युत् तथा सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा ल्याउन युद्धस्तरमा काम भइरहेको उनले बताए ।

मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्ष (ईसीआर) २४ सै घण्टा सक्रिय रहेको पनि उनले जानकारी दिए ।