बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा ९९ लाख सहयोग

11 Shares

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ । महासङ्घले आज सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको हो । राहत रकम ग्रहण गर्दै मन्त्री लम्सालले विपद्का बेला बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको योगदानप्रति धन्यवाद व्यक्त गरे । उनले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न क्षेत्रबाट भइरहेको सहकार्यले राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने बताए ।

रकम हस्तान्तरणपछि महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको उद्धार र खोजीकार्यमा महासङ्घ निरन्तर सक्रिय भएर लागिरहेको बताए । उनले यातायात क्षेत्रसँग प्रत्यक्ष जोडिएका मजदुर तथा व्यवसायीसमेत बाढीबाट प्रभावित भएकाले महासङ्घले आफ्ना सदस्य तथा श्रमिकको उद्धारका साथै पीडितपरिवारलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिए ।

“बाढीपीडितको उद्धार तथा राहतका लागि संस्था निरन्तर सक्रिय छ । हाम्रा दर्जनौँ यातायात मजदुर र सवारीसाधनसमेत अहिलेसम्म बेपत्ता छन् । यातायात मजदुर र बाढीपीडितको उद्धार तथा सहयोगमा हामी अहोरात्र खटिएका छौँ”, अध्यक्ष सिटौलाले भने ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेका बेला यातायात व्यवसायी महासङ्घले गरेको सहयोगले प्रभावितको राहत तथा पुन:स्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।