नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यक : प्रमुख आचार्य

10 Shares

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । 

ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता अरहेको बताउनुभएको हो ।

सडक निर्माण गर्दा तत्कालको दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र नभई दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावलाई समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा नदी किनारमा सडक निर्माण गर्दा निर्माण सामग्री प्राप्त गर्न सहज हुने, छिटो निर्माण गर्न सकिने लगायतका कारणले त्यस्तो अभ्यास अघि बढाइएको हुन सक्ने बताउनु भयो । तर अब सडक निर्माणको दीर्घकालीन प्रभावबारे गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाइ छ ।

आचार्यले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)लाई कागजी प्रक्रिया पूरा गर्ने माध्यमका रूपमा मात्रै लिन नहुने बताउनु भयो । उहाँले सम्बन्धित मन्त्रालयका सचिवको ध्यानाकर्षण गराउँदै ईआईए र आईईई वास्तविक अध्ययन र जोखिम मूल्यांकनमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, अलि दूरी छोटो हुन्छ भन्ने हिसावले मात्रै ग¥यौं कि हामीले ? यसले लङ टर्ममा देशको सिङ्गो इकोनोमीमा के इम्प्याक्ट पार्छ भन्ने कुरामा अब ध्यान दिनुपर्ने हो कि ? हाम्रो ईआईए र आईईई केवल पेपर कपी–पेस्ट गरेर रिपोर्ट बुझाइदिने विषय त भएनन् नि ? किन हाम्रो एउटा हाइवेको एउटा पहिरो गएपछि सिङ्गो देश कनेक्टिभिटीबाट टुट्छ ? कहाँनेर चुक्यौँ हामी ? मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको जीवन हो । हरेक दिनजसो एक दर्जनभन्दा बढी एक्सिडेन्ट सिटीभित्र भइरहेको छ । पोलिसीमै चेन्ज गरौँ । जे–जे भयो, अब त्यसलाई नदोहोरिने गरी सुधार गर्न सक्यौँ भने यो सिम्पोजियम दिगो यातायात, खासगरी अर्बान मोबिलिटीका लागि ठूलो अर्थ राख्छ ।’

वातावरणीय तथा प्राविधिक अध्ययनका प्रक्रिया पूरा गरिए पनि व्यवहारमा सडक अवरुद्ध हुने र एउटा राजमार्गमा पहिरो जाँदा सिङ्गो मुलुकको कनेक्टिभिटी प्रभावित हुने अवस्था किन आएको हो भन्ने विषयमा समीक्षा गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले विगतका कमजोरीलाई नीतिगत तहबाट समीक्षा गरेर आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी नीति बनाउनुपर्ने बताउनुभयो । महानगर प्रमुख आचार्यले शहरी क्षेत्रमा बढ्दै गएको सडक दुर्घटनालाई समेत नीतिगत कमजोरीसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।

शहरभित्र यातायातका विभिन्न माध्यम र ट्राफिक व्यवस्थापनसम्बन्धी तथ्यांकको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले दैनिक ठूलो संख्यामा दुर्घटना भइरहेको बताउनुभयो । दुर्घटनाका कारण पहिचान गरी नीतिगत तहबाटै सुधार गर्नुपर्नेमा जोड दिँदै आचार्यले विगतका कमजोरी नदोहोरिने गरी स्पष्ट निर्णयसहित नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँकाअनुसार सडक तथा यातायात पूर्वाधार निर्माणमा दीर्घकालीन आर्थिक, वातावरणीय र मानवीय प्रभावलाई केन्द्रमा राखेर नीति निर्माण गर्नसके मात्रै दिगो यातायात र सहरी गतिशीलताको लक्ष्य हासिल गर्न सकिनेछ ।