चितवनमा लङ्गुरबुर्जा नियन्त्रण अभियान तीव्र, २ हजार ३३३ गोटी र ५३६ पाल प्रहरीको नियन्त्रणमा

9 Shares

चितवनमा लङ्गुरबुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बीचको अवधिलाई लक्षितगरी सञ्चालन गरेको अभियानमा हालसम्म दुई हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा दर्जनौँ जनालाई नियन्त्रणमा लिएर उनीहरूलाई एक रात प्रहरी नियन्त्रणमा राखेर सम्झाइबुझाइ गरी अबदेखि नखेल्ने प्रतिबद्धतासहित कागज गराएर अभिभावकको जिम्मा लगाइएको छ ।

उनले भने, “लङ्गुरबुर्जामा जितहार हुने भएकाले जुवाकै एक स्वरूप हो । यसमा मानिसले पैसा अनावश्यक रूपमा खर्च गर्ने गरेको पाइएको छ ।” उनले लङ्गुरबुर्जाका कारण विगतमा झैझगडा हुने र खुकुरी हानाहानसम्मका घटना हुने गरेको सुनिने गरेको बताए ।

यसले विद्यार्थीको पढाइमा असर पार्न सक्ने भएकाले प्रहरीले नियन्त्रण अभियानलाई प्राथमिकता दिएको उनको भनाइ छ । एसपी पौडेलका अनुसार लङ्गुरबुर्जालाई जुवा ऐनमा स्पष्ट रूपमा उल्लेख नगरिएकाले खेलमा प्रयोग हुने सामग्री नियन्त्रणमा लिने र खेलिरहेको अवस्थामा भेटिएकालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गर्ने गरिएको छ ।

तिहार आउन अझै बाँकी रहेकाले लङ्गुरबुर्जा नियन्त्रणका साथै पटका पड्काउनेलगायतका अवाञ्छित गतिविधि रोक्न प्रहरी सक्रिय रहेको उनले बताए ।