सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउखेती सुरु गरेका हुन् ।
विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने उद्देश्यले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको गुप्ताले बताए । च्याउखेती सुरु गरेको पहिलो वर्ष घाटा व्यहोर्नुपरे पनि पछिल्ला वर्षमा आम्दानी बढ्दै गएको उनको भनाइ छ ।
हाल करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै आएका गुप्ताको फार्ममा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ । वार्षिक ३० टनभन्दा बढी च्याउ उत्पादन गरी बिक्री गर्दै आएको उनले जानकारी दिए ।
उत्पादित च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा लगायतका स्थानीय बजारमा बिक्री हुने गरेको छ । च्याउ बिक्रीका लागि बजारको अभाव नरहेको उनले बताए ।
हाल च्याउ प्रतिकिलो रु १८० देखि रु १९० सम्म बिक्री हुने गरेको छ । फार्मबाटै खरिद गर्ने व्यापारीले भने केही सस्तो मूल्यमा लैजाने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष च्याउको मूल्य घटेको गुप्ताले बताए । गर्मी मौसमको तुलनामा जाडोयामका मङ्सिर, पुस र माघ महिनामा च्याउको मूल्य राम्रो हुने र प्रतिकिलो रु २२० सम्म पुग्ने गरेको उनको भनाइ छ ।
“विदेशमा धेरै मिहिनेत गर्दा पनि कमाइले खर्च धान्न कठिन हुन्थ्यो”, उनले भने, “स्वदेशमै व्यवसाय गर्दा आम्दानी गर्नुका साथै अरूलाई पनि रोजगारी दिन सकेकाले सन्तुष्टि मिलेको छ ।”
अहिले उनको फार्ममा छ जना कामदार कार्यरत छन् । परिवारका सदस्यले पनि च्याउखेतीमा सहयोग गर्दै आएका छन् । च्याउ टिप्ने, व्यवस्थापन गर्ने र बजारसम्म पुर्याउने काम परिवारका सदस्य मिलेर गर्ने गरेको उनले बताए ।
“च्याउखेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन”, गुप्ताले भने, “थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।” चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न योग्य हुने र वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उनले जानकारी दिए ।
सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या भोग्नुपरे पनि अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको गुप्ताले बताए । च्याउखेतीका लागि विशेषगरी पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनको भनाइ छ । खेतीमा कुनै पनि विषादी प्रयोग नगरी च्याउ उत्पादन गरिने भएकाले अग्र्यानिक च्याउको माग बढ्दै गएको उनले बताए ।
गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख र बराहक्षेत्र नगरपालिकाबाट रु ९० हजार अनुदान प्राप्त गरेका थिए । त्यसैगरी नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर, सफारी, टनेललगायत खेतीका लागि आवश्यक सामग्री प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न थप सहज भएको उनले बताए ।
“थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, गुप्ताले भने, “युवा वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने छैन । गाउँमै थोरै लगानीमा व्यवसाय सञ्चालन गरेर पनि जीवन चलाउन सकिन्छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया