प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मौज्दात

13 Shares

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ ।

यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको बताइएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

बाढीपछि सरकारले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।

सरकारले बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कोषमा रकम जम्मा गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो ।