भोटेकोशी बाढीमा २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारीमा क्षति

10 Shares

काठमाडौं । भोटेकोशी बाढीमा परी २ सय ३३ जना यातायात मजदुर बेपत्ता भएका छन् । बाढीबाट करिब ९ सय वटा सवारीसाधनमा क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

गत भदौ १० गते आएको भोटेकोशी बाढीले यातायात क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको महासंघले जनाएको हो ।

महासंघका अनुसार हालसम्म प्राप्त विवरणमा २ सय ३३ जना चालक तथा सहचालक बेपत्ता भएका छन् भने १ सय ९१ वटा सवारीसाधन हराएको पुष्टि भइसकेको छ ।

भदौ १० गतेको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा जडीबुटीमा आयोजित स्मृति सभामा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रले बेहोरेको क्षतिको विवरण सार्वजनिक गरेका हुन् ।

महासंघका अनुसार नेपाल अरनिको यातायात प्रालिका १८ वटा बस, एक मिनी ट्रक, दुई जिप र चार कन्टेनर पूर्ण रूपमा ध्वस्त भएका छन् । उक्त कम्पनीका ५० भन्दा बढी मजदुर तथा स्वरोजगार व्यवसायी बेपत्ता छन् ।

त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालिका १८ वटा बस र २१ जना कर्मचारी बेपत्ता छन् । नारायणी यातायात व्यवसायी प्रालिका ५९ वटा ट्रक तथा कन्टेनर र ७० जना मजदुर बेपत्ता भएका छन् ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, कलंकीका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरसहित ४० जना कर्मचारी सम्पर्कविहीन छन् ।

हिमालयन यातायात प्रालिका चार ट्रक, १६ कन्टेनर, एक सुमो र सात टिपरसहित १० जना चालक तथा सहचालक बेपत्ता छन् ।

भक्तपुर न्यू भिजनका ६ सवारीसाधन र दुई मजदुर, नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबस र नौ मजदुर तथा पृथ्वी राजमार्ग कम्पनीको एक बस र २२ यात्रुसहित चालक पनि बेपत्ता रहेको महासंघले जनाएको छ ।

धादिङ मण्डली र धादिङ ग्रामीण यातायातका सवारीसाधन तथा मजदुरसमेत बेपत्ता भएका छन् ।

महासंघका अनुसार करिब ३ सय बस, १ सय माइक्रो तथा मिनीबस र ४ सय ट्रक तथा कन्टेनरसहित कुल ९ सयको हाराहारीमा सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

महासंघले विपद्को यस घडीमा सरकारसँग विशेष राहत तथा सहयोगको माग गरेको छ । अध्यक्ष सिटौलाले बाढीमा बगेका तथा बेपत्ता भएका सवारीसाधनको बैंक तथा वित्तीय संस्थाको किस्ता तत्काल रोक्न सरकारसँग माग गरे ।

‘भोलिदेखि नै बैंकहरूले ताकेता गर्ने अवस्था आउन सक्छ । त्यसैले ती सवारीको किस्ता अहिलेलाई स्थगित गरी उचित क्षतिपूर्ति र बिमा भुक्तानीको व्यवस्था मिलाउनुपर्छ,’ सिटौलाले भने ।

महासंघले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका चालक र मजदुरका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

ठूलो क्षति बेहोरे पनि यातायात व्यवसायीले सरकारको उद्धार कार्यमा सहयोग गरिरहेको महासंघले जनाएको छ । कलंकीस्थित टिपर व्यवसायी संघले विभिन्न क्षेत्रमा उद्धारका लागि निःशुल्क टिपर सेवा उपलब्ध गराइरहेको र महासंघका पदाधिकारी कार्यक्षेत्रमै खटिएर खोजी कार्यमा जुटेको जनाएको छ ।

यसैबीच, अरनिको यातायात कम्पनी प्रालिले ठूलो भौतिक क्षति बेहोरे पनि सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक महासंघमार्फत हस्तान्तरण गरेको छ ।

बाढीपहिरोका कारण काठमाडौं जोड्ने लाइफलाइन मानिने पृथ्वीराजमार्गको कृष्णभीर, परेवा भीर र मलेखु पुललगायतका क्षेत्र क्षतिग्रस्त भएको महासंघले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ तथा ग्यास बोक्ने ठूला सवारीसाधन बीच बाटोमै रोकिएका छन् । महासंघले वैकल्पिक मार्गबाट सेवा सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।

देशभरको सडक सञ्जाल अस्तव्यस्त रहेकाले सडक मर्मत कार्यलाई तीव्रता दिन संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षणसमेत महासंघले गराएको छ ।