काठमाडाै । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभिएल) मा लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार राति भएको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हाे। कर्णालीले खप्तडलाई २५–१९, २५–१९ र २५–१९ ले पराजित गर्दै सहज जित हात पारेकाे छ। लगातारको दोस्रो जितसँगै कर्णालीले ६ अंक बनाएको हाे।
खप्तडको भने यो लगातार दोस्रो हार हो । उसले अंकको खाता खोल्न सकेको छैन । यसअघि आइतबारै भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौं रेड्सलाई ३-० सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको थियो ।
एनभीएलमा साेमबार मधेश वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजबीच खेल हुने भएकाे छ । लिगमा कूल ६ टोली सहभागी छन् । नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्ने भएकाे हाे। नेपाली भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।
यहि भदौ २७ गतेसम्म कभर्डहलमा हुने एनभिएलमा सिंगल राउन्ड रोबिन लिग खेल्ने भएका छन् । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्ने भएकाे हाे । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया