हर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने इरानकाे तयारी

8 Shares

एजेन्सी। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले केही दिनभित्र हर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिने बताउनुभएकाे छ।

इरानी सरकारी सञ्चारमाध्यमले उक्त क्षेत्र फारसको खाडीका अन्य भू-भागसम्म विस्तार गरिने जनाएकाे हाे। सचिव रेजाईले नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाले निर्धारण गरेको नाकाबन्दीको रेखाबाट शुरु भएर पर्सियन खाडीका अन्य क्षेत्रसम्म फैलिने बताउनुभएकाे छ। इरानले तोकेको उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने जुनसुकै विदेशी जहाज वा पोतलाई इरानको आधिकारिक प्रतिबन्ध सूचीमा राखिने चेतावनी पनि दिइएको छ।

यसैबीच, सचिव रेजाईले ओमानसँगको सहकार्यमा इरानले व्यवस्थापन गर्ने नयाँ अन्तर्राष्ट्रिय जलमार्गको खाका तयार पारिएको बताउनुभयाे। हर्मुज जलमार्ग हुँदै हुने जहाजको आवागमनलाई व्यवस्थित गर्न इरान र ओमानबीच तय गरिएको नयाँ जलमार्गको नक्सामा दुवै देशले केही दिनभित्र औपचारिक रूपमा हस्ताक्षर गर्ने भएका छन् ।

खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड तथा तेल ट्यांकरमाथिका आक्रमण तीव्र भइरहेकाे समयमा इरान र ओमानबीच भएको नयाँ जलमार्गसम्बन्धी सहमति भएको हो । इरानले घोषणा गर्न लागेको प्रतिबन्धित क्षेत्रलाई रणनीतिक रूपमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।