रसुवा बाढी अपडेट : ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

16 Shares

 रसुवा बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको हो । प्राधिकरणले शनिवार मध्यान्ह १२ बजेसम्मको अध्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै मानवीय र भौतिक क्षतिको विस्तृत विवरण उपलब्ध गराएको हो । प्राधिकरणकाअनुसार बाढी र पहिरोका कारण हालसम्म १ हजार ३ सय ४४ जनाले ज्यान गुमाएका छन् । फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३ सय ६०, नवलपरासी पश्चिममा २ सय ३०, नवलपरासी पूर्वमा २ सय २२, नुवाकोटमा १ सय ९२ र रसुवामा १६० जना रहेका छन् । त्यसैगरी धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८ र काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।

मृतकहरूमध्ये ४ सय ८९ पुरुष, २ सय ६९ महिला, ५२ बालिका र ३३ बालक रहेका छन् भने ५ सय १ वटा शवका आंशिक अवशेषहरू मात्र फेला परेका छन् । हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । विपद्मा परी घाइते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३१४ जनाको विभिन्न अस्पतालमा, ३ हजार २ सय ६६ जनाको नेपाली सेनाद्वारा र २ हजार ८३ जनाको सशस्त्र प्रहरी बलमार्फत उपचार गरिएको छ । अहिलेसम्म १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेनाले ९ सय १ पटक र निजी क्षेत्रले १ सय २९ पटक हवाई उडान प्रयोग गरेका छन् ।

हाल रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६ सय २७ जनालाई राखिएको छ । अझै पनि करिव ५ हजार व्यक्ति सम्पर्कविहीन रहेका छन् । यसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, ५ सय ८९ विदेशी नागरिक र करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी रहेका छन् ।

सम्पर्कविहीनको संख्यामा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू पनि समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन ८० ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ हवाई उडानमार्फत राहत ढुवानी गरेको छ । उद्धार र राहत कार्यमा २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेना ९ हजार २ सय ८७, नेपाल प्रहरी ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी ४ हजार २ सय ३ जना रहेका छन् ।

प्रारम्भिक अनुमानअनुसार ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ । ४८ सरकारी संरचना (३५ पूर्ण, १३ आंशिक), १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । साथै १३ वटा जलविद्युत आयोजनामा समेत क्षति पुगेको उल्लेख छ । नेपाल सरकारले रसुवा र नुवाकोट जिल्लाका लागि १–१ करोड रुपैयाँ, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

क्षतिको आधारमा प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९ सय ६३ रहेको अनुमान गरिएको छ । प्राधिकरणले सम्पर्कविहीन, घाइते र उद्धार गरिएका व्यक्तिहरूको थप विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिने जानकारी दिएको छ ।