रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १२ सय ८७ पुग्यो, ५ हजार ८३ सम्पर्कविहीन बाढीका कारण ३ खर्ब ८७ अर्ब बढीको आर्थिक क्षति

25 Shares

काठमाडाैं । रसुवाकाे भाेटेकाेशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय ८७ जना पुगेकाे छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्हसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको जनाएकाे हो । रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिकाे बारेमा अद्यावधिक गरेको विवरण अनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको हाे ।

फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत हुन सकेको छ । विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका हुन् । घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ । उद्धार कार्यलाई तीब्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएको हाे । शुक्रबार मात्रै त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकाेप्टर उडान गरी उद्धार र राहत कार्यमा सहयोग पुर्‍याएका छन् । उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन् । विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको हाे । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन रहेका हुन् । जसमा ५ सय ८३ जना विदेशी नागरिक छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १ सय ३० र नुवाकोटका २ हजार ३ सय ४० जना रहेका हुन् । सम्पर्कविहीनको संख्यामा पहिचान नभएका शवहरू समेत समावेश भएको हुनसक्ने प्राधिकरणको अनुमान छ ।

प्रारम्भिक आंकलनअनुसार बाढी र विपद्बाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ । यस्तै, ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ । यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको हाे । विपदबाट भएको कूल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । शिघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको हाे ।

प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ । काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १ सय ६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्‍याएको हाे। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवाहरू पनि क्रमशः सुचारु हुँदैछन् । नेपाल टेलिकमका १ सय २० मध्ये १ सय १६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् । सम्पर्कविहीन विदेशी र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेवसाइट र फेसबुक पेजमा उपलब्ध गराइएको हाे ।