अछाममा भालुको आक्रमणबाट महिला गम्भीर घाइते

9 Shares

अछाम । अछामको रामारोशन गाउँपालिका–६, भटाकाटियाकी एक महिला भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी छन् ।

भटाकाटिया रोल्ते निवासी अम्बि साउँदलाई बिहीबार दिउँसो करिब १ बजे कालाबगरमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको टाउकोमा ठुलो घाउ लागेको छ भने उनी गम्भीर घाइते भएकी छन् ।

एमाले नेता डिबी साउँदका अनुसार घाइते अम्बि साउँदको उपचारका लागि सुर्खेतबाट हेलिकोप्टर ल्याउने पहल गरिएको थियो । तर खराब मौसमका कारण हेलिकोप्टरले पटक–पटक उद्धारको प्रयास गरे पनि गैरिटाडबाटै फर्किनु परेको थियो ।

हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि उनलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल मंगलसेन लगिएको छ । उनको हाल जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।