‘राष्ट्रिय हिमाली जलवायु तथा विपद् कोष’ स्थापना गर्न नेकपाको माग

10 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हिमनदी पग्लिने र हिमताल विस्फोटको जोखिम अध्ययन गर्न राष्ट्रिय हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउन समेत माग गरे । राहत वितरण प्रक्रियामा वृद्धवृद्धा, सुत्केरी, बालबालिका, गर्भवती महिला र बिरामीलाई प्राथमिकतामा राख्न समेत आग्रह गरे । उनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

सांसद पुनले बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी आवासको व्यवस्था गर्न पनि माग गरे । बाढीमा अभिभावक गुमाएका बालबालिकालाई कम्तीमा स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘जलविद्युत् आयोजना लगायतका सुरुङ, विद्युत् गृहमा फसेकाहरूको खोजी र उद्धार सम्भव भएसम्म छिटो गरियोस् । राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाइयोस् । खासगरी वृद्धवृद्धा, सुत्केरी, बालबालिका, गर्भवती महिला तथा बिरामीहरूलाई प्राथमिकीकरण गरेर राहत वितरण गरियोस् ।’

उनले रसुवा, नुवाकोट तथा धादिङमा स्वास्थ्य, खानेपानी, विद्युत् र सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल पुनः स्थापना गर्न समेत माग गरे ।