रसुवा बाढीः हालसम्म १०५० को मृत्यु, ३ हजार ९१६ जना अझै बेपत्ता (अपडेट)

20 Shares

काठमाडौं । भोटेकोशी बाढीका कारण हालसम्म १ हजार ५० जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय १६ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बाढीमा परी ज्यान गुमाउने १०५० मध्ये विभिन्न स्थानबाट शव फेला पार्ने क्रम जारी छ । नुवाकोटमा १ सय ४२, रसुवामा ४१, तनहुँमा ३८, धादिङमा ५७, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५ र चितवनमा ३२१ जनाको शव फेला परेको विवरण प्राप्त भएको छ । ५८३ विदेशी नागरिक र उनीहरूसँगै गएका १६४ नेपाली कामदार/सहयोगी अझै सम्पर्कविहीन छन् ।

बाढीमा परी घाइते भएका २९२ मध्ये १८२ जना उपचारपश्चात् विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरीले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य उपचार प्रदान गरेका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि कुल २१ हजार ३ सय १४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९ सय १२, नेपाली सेनाका ९ हजार १ सय ९९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरबाट ६ सय १० पटक उडान भरिएको छ, जसमध्ये आज मात्रै ८४ उडान भएका छन् । हवाई मार्गबाट ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरिएको छ। निजी क्षेत्रका हेलिकप्टरबाट समेत २९ वटा उडानमार्फत उद्धार कार्यमा सहयोग पुर्‍याइएको छ ।

सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोटका लागि १/१ करोड, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाहरूका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ । राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैर–खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

यस्तै, हेलिकप्टरमार्फत विभिन्न स्थानमा राहत ढुवानी भइरहेको छ। हाल ३ हजार ४ सय ५३ जना प्रभावितहरू नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् । प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सुचारु राख्न इन्धनको मौज्दात सुनिश्चित गरिएको छ । हाल ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।

सञ्चार क्षेत्रतर्फ, नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आइसकेका छन् । एनसेलका क्षतिग्रस्त ७८ मध्ये ७५ वटा टावरले पुनः काम गर्न थालेका छन् । प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उपचाररत व्यक्ति र उद्धार गरिएकाहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत निरन्तर अद्यावधिक गरिरहेको जानकारी दिएको छ ।