नेपाली सेनाद्वारा अप्पर त्रिशूली हाइड्रोको टनेलमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

12 Shares

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बिहीबारदेखि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३ सय ५० जना मजदुर तथा स्थानीयको उद्धार गरेकाे छ।

सेनाले अझै पनि सोही टनेलमा फसेका १ सय जना भन्दा बढी मानिसहरूलाई सुरक्षित रुपमा बाहिर निकाल्न जुटिरहेको जनाएको हाे। टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १-३ को सैन्य टोली अहोरात्र खटिएको छ।

त्यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको हाे । त्यस्तै, स्याफ्रुबेसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेसीका विभिन्न स्थानहरूबाट थप ५ सय ३३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाले बिहिबार रसुवाका यी विभिन्न प्रभावित क्षेत्रहरूबाट कूल ८ सय ८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरेको बताएकाे हाे।