जनैपूर्णिमा पर्व आज देशैभर मनाइँदै

13 Shares

काठमाडाैं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा शुक्रबार देशैभर मनाइँदैछ।

वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने गर्दछन् । ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउँछन् । ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ । जनै पूर्णिमाका अवसरमा ११ प्रकारका गेडागुडीबाट बनाइएको परम्परागत परिकार क्वाँटी खाने चलन पनि छ । क्वाँटी स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

तराई क्षेत्रमा भने यस दिन दिदी-बहिनीले दाजु-भाइलाई राखी बाँधेर रक्षाबन्धन मनाउने चलन रहेकाे हाे। जसले दाजु-भाइ तथा दिदी-बहिनीबीचको प्रेम र सम्बन्ध बलियो बनाउने सामाजिक विश्वास छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर, गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन बिहानैदेखि मेला लागेको हाे।

जनैपूर्णिमाका दिन रसुवाको गोसाइकुण्डमा विशेष मेला लाग्ने गर्दथ्यो । यसपटक भने भोटेकोशीमा आएको बाढीले विध्वंश मच्चाएपछि गोसाइकुण्डमा खासै रौनक छैन ।