राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिन नेता शाहीको भनाई

23 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरो जस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले विपद् व्यवस्थापन र उद्धारका लागि ६ बुँदे सुझाव प्रश्तुत गर्नुभएको हो । शाहीले रसुवा लगायतका क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

विशेष गरी त्रिशूलीस्थित हाकु २१६ (जेबी) को सुरुङभित्र ३०० भन्दा बढी व्यक्तिहरू फसिरहेको जानकारी दिँदै उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । आज बिहानैदेखि सशस्त्र प्रहरीको हेलिकप्टरमार्फत उद्धार कार्य शुरु भएको र सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न निर्देशन दिइएको उहाँले बताउनु भयो ।

राहत वितरणलाई व्यवस्थित बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई थप व्यापक, प्रचारमुखी र पारदर्शी बनाउनुपर्ने, बाढी प्रभावित क्षेत्रमा टेलिकम र नेटवर्क अवरुद्ध हुँदा हराइरहेका व्यक्तिहरूको अवस्था अज्ञात रहेकाले सञ्चार सुविधा तत्काल सुचारु गर्नुपर्ने, विपद्को समयमा मृतकको शरीरबाट गरगहना लुट्ने जस्ता अमानवीय कार्यमा संलग्नहरूलाई भिडियो प्रमाणका आधारमा तत्काल पहिचान गरी कडा कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

नेता शाहीले नेपालका प्रमुख नदीहरूको स्रोत हिमतालहरू रहेको र ती फुट्ने जोखिम सधैँ रहने हुनाले हिमतालहरूको निरन्तर अनुगमन र वैज्ञानिक अध्ययनका लागि एक स्थायी सरकारी निकाय गठन गर्नुपर्ने, विपद् व्यवस्थापनमा सबै दललाई एकै ठाउँमा ल्याउन संसदीय समिति बनाउनुपर्ने, राहत कार्यमा बाधा पुग्ने गरी नेताहरूले कार्यक्षेत्रमा अनावश्यक भिडभाड नगर्न र प्रचारभन्दा सहयोगमा केन्द्रित हुन अपिल समेत गर्नुभएको छ ।

उहाँले प्रभावित क्षेत्रमा खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्न समस्या भइरहेकाले तत्काल काठेपुल, झोलुङ्गे पुल र ट्रस ब्रिजहरू निर्माण गर्नुपर्ने माग गर्नुभयो । नेता शाहीले यतिबेला कुनै दल वा समूह नभई सिङ्गो देश एकजुट हुनुपर्ने उल्लेख गर्दै सरकारको सकारात्मक कदममा आफूहरूको पूर्ण समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।