चलचित्रको प्रस्तुति र कथावस्तुले ‘मास्टर्नी’ मनपर्‍यो : व्यवसायी मलहोत्रा

13 Shares

काठमाडौं । व्यवसायी दीपक मलहोत्राले नेपाली चलचित्र ‘मास्टर्नी’ आफूले हेरेका उत्कृष्ट नेपाली चलचित्रमध्ये एक भएको बताएका छन्।

चलचित्रको प्रिमियर शो हेरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मलहोत्राले ‘मास्टर्नी’ कथावस्तु, प्रस्तुति र थ्रिलरको संयोजनका हिसाबले प्रभावशाली चलचित्र भएको बताएका हुन्।

मलहोत्राकाअनुसार चलचित्रबारे आफ्नो सकारात्मक धारणा सार्वजनिक गरेपछि धेरै साथीभाइ, आफन्त तथा शुभचिन्तकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भए पनि केही प्रतिक्रियामा चलचित्रसँग कुनै सम्बन्ध नभएका विषय जोडेर अनावश्यक र नकारात्मक टिप्पणी गरिएको देखिएको छ।

उनले कलाकारले कथावस्तु र पात्रको आवश्यकताअनुसार फरक–फरक भूमिका निर्वाह गर्नुपर्ने भन्दै कुनै पनि कलाकारको भूमिकालाई चलचित्रको समग्र कथा सन्दर्भबाट बुझ्नुपर्नेमा जोड दिएका छन्।

विशेषगरी चलचित्रमा प्रियंका कार्कीको भूमिकालाई लिएर भएका केही टिप्पणीप्रति असन्तुष्टि जनाउँदै मलहोत्राले ‘मास्टर्नी’मा ‘गणित सिकाउने’ लगायतका आरोपसँग जोडिने कुनै प्रसंग नरहेको स्पष्ट पारेका छन्। त्यस्ता टिप्पणीसँग जोडिएको भनिएको गीतसमेत चलचित्रको कथासँग सम्बन्धित नरहेको उनको भनाइ छ।

उनले चलचित्रमा अनावश्यक अश्लीलता नरहेको उल्लेख गर्दै प्रियंका कार्कीले आमासँगै शिक्षिकाको भूमिकालाई जिम्मेवारीपूर्वक र प्रभावशाली ढंगले प्रस्तुत गरेको बताएका छन्। आफ्नो व्यक्तिगत मूल्याङ्कनमा प्रियंकाको उक्त भूमिका उनका यसअघिका चलचित्रमा देखिएका भूमिकामध्ये उत्कृष्ट रहेको मलहोत्राको भनाइ छ।

मलहोत्राले प्रियंका कार्कीले नेपाली चलचित्र निर्माणमा लगानी गर्ने र जोखिम उठाउने साहस गरेको भन्दै उनको प्रयासको प्रशंसा गरेका छन्। ‘मास्टर्नी’ जस्ता चलचित्रले नेपाली चलचित्र उद्योगलाई थप प्रतिस्पर्धी र सबल बनाउन योगदान पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

आफूले चलचित्रको प्रशंसा गर्नुमा आर्थिक स्वार्थ रहेको भन्ने टिप्पणीको समेत उनले खण्डन गरेका छन्। उनले ‘मास्टर्नी’मा आफूले एक रुपैयाँ पनि लगानी नगरेको स्पष्ट पार्दै चलचित्र हेरेर राम्रो लागेको कारण मात्र सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्। बरु, चलचित्र हेरेपछि प्रियंका कार्कीको आगामी परियोजनामा लगानी गर्ने सम्भावनाबारे सोच्न प्रेरित भएको उनले उल्लेख गरेका छन्।

‘मास्टर्नी’ मन पर्नुको मुख्य कारण चलचित्रको प्रस्तुति र कथावस्तु रहेको मलहोत्राले बताएका छन्। चलचित्रमा थ्रिलरको राम्रो संयोजन रहेको, कथा अघि बढ्दै जाँदा दर्शकमा उत्सुकता कायम रहने र प्रस्तुति सभ्य तथा सन्तुलित रहेको उनको मूल्यांकन छ। चलचित्र हेर्दा एक क्षण पनि बोरिङ महसुस नभएको उनले बताएका छन्।

मलहोत्राले कुनै पनि चलचित्रबारे धारणा बनाउनुअघि चलचित्र हेरेर मात्र प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्। सकारात्मक वा नकारात्मक प्रतिक्रिया स्वाभाविक भए पनि पूर्वाग्रह वा तथ्यहीन टिप्पणीले कलाकार, निर्माता तथा समग्र नेपाली चलचित्र क्षेत्रलाई निरुत्साहित गर्ने उनको भनाइ छ।

नेपाली चलचित्र क्षेत्रलाई अझ उचाइमा पुर्‍याउन स्वस्थ आलोचना, सकारात्मक सोच र सिर्जनात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले ‘मास्टर्नी’को सम्पूर्ण टिमलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन्।