झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आज झापाको काँकरभिट्टामा विरोध र्याली निकालिएको छ।
बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै दोषीलाई कडा कारबाहीको मागसहित जनचेतना महिला केन्द्रको आयोजनामा विरोध र्याली निकालिएको हो। र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सामाजिक सङ्घसंस्था, महिला अधिकारकर्मी, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
काँकरभिट्टा बजार क्षेत्रका विभिन्न स्थान परिक्रमा गरेको र्यालीमा सहभागीहरूले बालबालिकामाथि हुने हिंसा, यौनजन्य दुर्व्यवहार तथा हत्याजस्ता जघन्य अपराध अन्त्य गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका थिए।
र्यालीका क्रममा सहभागीहरूले ‘हत्या हिंसा बन्द गर’, ‘अन्याय अब सहिन्न’, ‘बलात्कारीलाई फाँसी दे’, ‘गरिमालाई न्याय दे’ लगायतका नाराहरू लगाएका थिए। प्रदर्शनकारीहरूले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका थिए।
र्यालीमा सहभागी विद्यार्थीहरूले समेत बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएका थिए। विद्यालय जाने तथा सार्वजनिक स्थानमा हिँडडुल गर्ने बालबालिकालाई सुरक्षित वातावरण निर्माण गर्न राज्य, स्थानीय तह, विद्यालय, अभिभावक र समाज सबै जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो।
र्यालीपछि काँकरभिट्टामा आयोजित कोणसभामा जनचेतना महिला केन्द्रकी संयोजक राधाप्रधान कार्की तथा सहभागी विद्यार्थीहरूले सम्बोधन गरेका थिए। वक्ताहरूले बालिकामाथि भएको घटनाले समाजलाई गम्भीर रूपमा झक्झक्याएको भन्दै यस्ता अपराध दोहोरिन नदिन प्रभावकारी कानुनी कार्यान्वयन र सामाजिक सचेतना आवश्यक रहेको बताएका थिए।
उनीहरूले बालबालिकामाथि हुने हिंसा तथा यौनजन्य अपराधका घटनामा पीडित परिवारलाई न्याय दिलाउनुका साथै दोषीलाई कानुनी प्रक्रियामार्फत कडा सजाय सुनिश्चित गर्न सरकारसँग माग गरे।
कार्यक्रममा सहभागीहरूले कुनै पनि बालबालिका हिंसाको सिकार हुन नपरोस् भन्ने वातावरण निर्माणका लागि समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। बालबालिकाको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्न निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको थियो।
गरिमा चौधरीमाथि भएको घटनाको विरोधमा काँकरभिट्टामा निकालिएको र्यालीले बालबालिकामाथि हुने हिंसाविरुद्ध स्थानीयस्तरमा बढ्दो जनआक्रोश र न्यायको मागलाई समेत प्रतिबिम्बित गरेको सहभागीहरूले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया