अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालमा डिजिटल भुक्तानी सहज बनाउन मास्टरकार्ड र मोकोबीच सहकार्य

24 Shares

नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन मास्टरकार्डले नेपालमा आफ्नो ‘पे लोकल’ सेवा शुरु गरेको छ । यस पहलका लागि मास्टरकार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्युआर भुक्तानी प्लेटफर्म ‘मोको’ सँग सहकार्य गरेको हो । यस नवीन सेवाअन्तर्गत, विदेशी पर्यटकहरूले अब आफ्नो मास्टरकार्डलाई  प’मा आवद्ध गरी नेपालभरका ‘नेपालपे’ र ‘फोनपे’ क्युआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन् ।

यो एप एप्पल एप स्टोर र गुगल प्ले स्टोर दुवैमा उपलब्ध छ । मास्टरकार्डको ग्लोबल ‘पे लोकल’ सेवाले उपभोक्ताहरूलाई आफ्नो डेबिट वा क्रेडिट कार्ड डिजिटल वालेटमा लिंक गरी भुक्तानी गर्ने सुविधा प्रदान गर्दछ । यसबाट पर्यटकहरूले नगद बोक्नुपर्ने, मुद्रा सटही गर्नुपर्ने वा प्रिपेड खाताहरूमा रकम जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । होटल, रेस्टुरेण्ट, खुद्रा पसल, स्थानीय बजार र अन्य पर्यटकीय व्यवसायहरूमा यो सेवा उपलब्ध हुने भएकाले पर्यटकहरूले झन्झटरहित डिजिटल भुक्तानीको अनुभव लिन सक्नेछन् ।

साथै, स्थानीय व्यवसायीहरूले पनि आफ्नो विद्यमान क्युआर पूर्वाधारमार्फत अन्तर्राष्ट्रिय ग्राहकहरूलाई सेवा प्रदान गरी नेपालको बढ्दो पर्यटन क्षेत्रबाट लाभ लिन सक्नेछन् । मास्टरकार्डले एशियाली क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप यसअघि चीन, इण्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकामा यो सेवा सफलतापूर्वक लागू गरिसकेको छ । फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले मास्टरकार्डसँगको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयो  ।

विश्वका २०० भन्दा बढी देशमा सञ्जाल रहेको मास्टरकार्डले सुरक्षित, सरल र स्मार्ट प्रविधिमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्दै आएको छ । –न्युज एजेन्सी नेपाल