आगलागीपीडित ९ परिवारलाई गोकर्णेश्वर नगरपालिकाद्वारा राहत वितरण

82 Shares

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती गगन नगरमा शनिवार राति भएको भीषण आगलागीबाट प्रभावित तथा विस्थापित परिवारलाई गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।

आइतबार नगरपालिकाको नेतृत्व तथा वडा नं. ५ को समन्वयमा आगलागीबाट प्रभावित ९ परिवारलाई राहत हस्तान्तरण गरिएको हो। राहत वितरण कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष धर्म थिङ लामा तथा वडा सदस्यहरू लक्ष्मी पुडासैनी र कमला नेपालीको सहभागिता रहेको थियो।

नगरपालिकाले पीडित परिवारको तत्कालीन आवश्यकता मध्यनजर गर्दै चामल, प्रेसर कुकर, कराई सहित भाँडाकुँडाको सेट, डसना, पानीको जार, अण्डालगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।

शनिवार राति प्रवेशद्वार नजिक रहेको काठ गोदामसहित सटर तथा टहरामा सञ्चालित पसलहरूमा लागेको आगलागीले ठुलो धनमालको क्षति पुर्‍याएको थियो। आगोका कारण व्यावसायिक तथा घरायसी प्रयोजनका लागि राखिएका अधिकांश सामान जलेर नष्ट भएका छन्।

पीडितहरूका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिए पनि आगोको तीव्रताका कारण सम्पूर्ण सामान जोगाउन सम्भव भएन। आगलागीमा घरभित्र रहेका अत्यावश्यक सामग्रीदेखि व्यवसाय सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामानसमेत नष्ट भएको उनीहरूको भनाइ छ।

गोकर्णेश्वर नगरपालिकाले प्रभावित परिवारको अवस्थाबारे थप मूल्याङ्कन गरी आवश्यकताअनुसार थप राहत, व्यवस्थापन तथा पुनः स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराइने जनाएको छ। विपद्को कठिन घडीमा स्थानीय तहबाट तत्काल राहत उपलब्ध गराइएकोप्रति स्थानीयवासीले आभार व्यक्त गर्दै पीडित परिवारको दीर्घकालीन पुनः स्थापनाका लागि थप सहयोग आवश्यक रहेको बताएका छन्।