अत्यावश्यक परे मात्रै राहदानी आवेदन दिन विभागको आग्रह

97 Shares

काठमाडौँ । सार्वजनिक बिदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ ।

दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई-पासपोर्ट बनाउने सेवाग्राहीहरूको भीड लागको हो ।

विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक बिदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ ।

आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरूको विभागमा भीड लागेको छ । विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् । विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्र्याक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे ।

इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौँ आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ । उनले सुरुमा आवेदन दिन नै वेबसाइट नखुलेर मुस्किल परेको बताए । आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिएपनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ । राहदानी ढिलो हुँदा इपिएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे ।

उनले भने ‘हाम्रो इपिएसको फर्म २० गतेसम्म मात्र छ । यदि २० गते भित्रमा हाम्रो पासपोर्ट हातमा आएन भने त हामीलाई धेरै समस्या पर्छ नि । हाम्रो फर्म छुट्यो भने झन् यो वर्ष त्यत्तिकै वेस्ट भइहाल्छ ।’

राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासि बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ । विभागका निर्देशक दीपक बञ्जाडेकाअनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटि देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् ।

उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए । उनले इपिएस आवेदनका कारण दैनिक हजारौँ अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताए । प्राविधिक त्रुटि देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उनले जानकारी दिए ।

निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको जानकारी दिए । उनकाअनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भइसकेको उनले बताए ।

बञ्जाडेकाअनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो । त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उनको भनाई छ । निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवेदन दिन पनि सेवाग्राहीलाई आग्रह गरे ।

उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए । विभागले अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गरिने तयारी गरेको पनि उनले जानकारी दिए । तत्काल आवश्यकता नभएका सेवाग्राहीलाई केही समयपछि आवेदन दिन आग्रह गरे ।

उनले भने ‘प्रायजसो मान्छेले अहिले पासपोर्ट क्राइसिस छ कि भनेर दुई–तीन महिना पछि एप्लाई गर्न चाहने पनि अहिल्यै आइरहेका छन् । अब अर्को हप्ता देखि हामीले फुल फ्लेज पहिला जस्तै एकदम लङ टर्मको लागि फर्महरू खोल्दैछौँ, सबैतिर फर्म खुल्छ, अहिले चाहिँ राइट नेक्स्ट डे को अघिल्लो दिन फर्म खुल्थ्यो । तर नेक्स्ट विक देखि चाहिँ लगभग एक महिनाको हामीले फर्म खोल्ने प्लान गरिराखेका छौँ, भनेको अर्थ हामीसँग त्यस्तो कुनै क्राइसिस छैन । अब यो इपिएस हप्ता सकिएपछि अवस्था सामान्य हुन्छ, यो हप्ता चाहिँ खास इपिएस कारणले जो इमर्जेन्सी छ, एकदम अप्ठ्यारो छ उहाँले एप्लाई गर्नु नत्र भने अलि एक हप्ता पछि नै प्लान गर्दा बेटर होला ।’

विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरी वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागकाअनुसार पहिला सिफ्ट बिहान ७ देखि दिउसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिवार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ ।