स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्यकर्मीलाई सरकारकाे अपिल (पत्रसहित)

13 Shares

काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न अपिल गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबार आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गर्नुभएकाे हाे ।

स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ जारी पत्रमा भनिएकाे छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे ।

सह-वक्ता अधिकारीले यसमा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायहरूले आवश्यक कार्य गरिरहेको बताउनुभएकाे छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधस्वरूप देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दकाे घोषणा गरेको हो।

यहि साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड भएको थियो।