नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका छन् ।
परीक्षा अनियमितता र मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावटको विरोधमा दिल्लीमा एक महिनाभन्दा लामो समयदेखि जारी विद्यार्थी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए।
प्रधानले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पनि राजीनामाबारे जानकारी दिएका छन्।
प्रधानको राजीनामा विद्यार्थी संगठन र केन्द्र सरकारबीच हुने भनिएको तेस्रो चरणको वार्ताअघि आएको हो। प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामाबिना सरकारसँग वार्ता अघि बढाउन नसकिने अडान राख्दै आएका थिए।
दिल्लीको जन्तर–मन्तरमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले परीक्षा प्रणालीमा सुधार, प्रश्नपत्र चुहावट नियन्त्रण तथा जिम्मेवार व्यक्तिमाथि कारबाहीसहित विभिन्न माग राखेका थिए।
प्रधानको राजीनामासँगै आन्दोलनरत पक्षका प्रमुख मागमध्ये एक पूरा भएको दाबी गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया