विपद्बाट कृषि, पशुपन्छी र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

54 Shares

सरकारले विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको विवरण सङ्कलन तथा मूल्याङ्कन गरिरहेको छ । बुधबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले क्षतिको मूल्याङ्कन विभिन्न सूचकका आधारमा भइरहेको जानकारी दिनुभएको छ ।

लगाइएको बालीको क्षति, विगतको उत्पादकत्व र चालु वर्षको बजार मूल्यका आधारमा कृषि उपजको नोक्सानी गणना गरिने उहाँले बताउनुभयो । विपद्बाट पशुपन्छीका साथै व्यावसायिक फार्म, जलचर र खेतीयोग्य जमिनमा परेको असरको विवरणसमेत सङ्कलन भइरहेको छ । विशेषगरी त्रिशूली करिडोरमा माछालगायत जलचरमा परेको क्षति र तिनको पुनःस्थापनामा लाग्ने समयको अध्ययन भइरहेको सचिव मिश्रले जानकारी दिनुभयो ।

बगाएर लगेको खेतीयोग्य जमिनको मूल्याङ्कन वार्षिक उत्पादकत्वका आधारमा गरिने भए पनि क्षतिग्रस्त जमिनको कुल क्षेत्रफल र मूल्याङ्कन अझै अन्तिम भइसकेको छैन । मन्त्रालयले वन, जैविक विविधता र राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन गरिरहेको जनाएको छ । सबै क्षेत्रको क्षतिलाई एकीकृत रूपमा मूल्याङ्कन गरी तयार गरिने तथ्याङ्क तथा प्रतिवेदन संसदीय विशेष समितिलाई उपलब्ध गराइनेछ ।