भोटेकोशी एवं कालीगण्डकी करिडोरमा विपद्बाट प्रभावित ४९ वटै वडाको क्षतिको छुट्टाछुट्टै विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय विशेष समितिले सरकारसँग माग गरेको छ ।
बुधबार सिंहदरबारमा भएको छलफलमा समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रत्येक वडामा भएको मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रको नोक्सानी र राहत वितरणको वास्तविक विवरण उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।
स्थलगत निरीक्षणअघि सरकारी निकायबाट प्रमाणित तथ्याङ्क आवश्यक रहेको उहाँको भनाइ रहेको छ । समितिले सरकारी विवरणमा उल्लेख भएको राहत वितरण र प्रभावित नागरिकले वास्तविक रूपमा प्राप्त गरेको राहतको अवस्था पनि तुलना गर्ने जनाएको छ ।
सरकारी निकायले राहत उपलब्ध गराएको दाबी गरे पनि प्रभावित नागरिकले पाए वा पाएनन् भन्ने विषयमा स्थलगत रूपमा जानकारी लिइनेछ । सभापति पौडेलले प्रमाणित तथ्याङ्क प्राप्त भएपछि मात्रै स्थलगत निरीक्षण अघि बढाउने र तथ्यमा आधारित विश्वसनीय प्रतिवेदन तयार गरिने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया