सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल

12 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन स्थानीय नागरिक, अन्य सुरक्षा तथा प्रशासनिक निकाय र सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनले सीमा व्यवस्थापनका लागि छिमेकी राष्ट्रका समकक्षी सुरक्षा निकायहरूसँगको सम्बन्धलाई समेत थप प्रभावकारी बनाइने उल्लेख गरे । उत्तर र दक्षिण दुवैतर्फका समकक्षीहरूसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर सीमा सुरक्षा र अपराध नियन्त्रणका कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘सशस्त्र प्रहरी बल सीमा क्षेत्रका नागरिक, स्थानीय समुदाय, सुरक्षा तथा प्रशासनिक निकाय र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धताका साथ काम गरिरहेको छ,’ उनले भने, ‘उत्तरतर्फ र दक्षिणतर्फका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाई दुई देशबीच समन्वयका माध्यमबाट सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइनेछ । हालसम्म संगठनले सीमा सुरक्षा, नागरिकको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि प्रचलित कानुन, उपलब्ध स्रोत–साधन र क्षमताअनुसार सीमा क्षेत्रको सुरक्षा, शान्ति–सुव्यवस्था र समग्र सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने दिशामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहनेछ ।’

सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्थाका लागि विगतदेखि नै विभिन्न सुरक्षा कारबाही र गतिविधिहरू सञ्चालन गर्दै आएको महानिरीक्षक पौडेलले बताए ।

आगामी दिनमा पनि प्रचलित कानुनको परिधिभित्र रही उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई थप मजबुत बनाउन सङ्गठन क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।