रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि आन्तरिक निर्देशन जारी (पत्रसहित)

14 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ ।

राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम् सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदका लागि निर्देशन जारी गरेको हो । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक निर्देशन जारी गर्दै नातावाद र परिवारवादको परिधिभन्दा बाहिरबाट मात्र प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा जाेड दिनुभएकाे छ ।

त्यस्तै, समावेशीतालाई प्रोत्साहन दिन, दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाझिने उम्मेदवार मुक्त हुन तथा छनोट, नियुक्ति तथा अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन निर्देशन गरिएकाे हाे । स्वकीय सचिवका लागि योग्य उम्मेदवार छनोट गरेपश्चात् नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने छ ।

पार्टीका सम्पूर्ण सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रस्तुत गर्नुपर्नेछ जारी निर्देशनमा उल्लेख गरिएकाे हाे।