पूर्वाधार विकास र व्यवहारिक नीतिबिना यातायात क्षेत्रको सुधार सम्भव हुँदैन: अध्यक्ष सिटौला

27 Shares

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडक पूर्वाधारको पर्याप्त विकास र व्यवहारिक नीतिबिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सडक नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनुभएको हो । अध्यक्ष सिटौलाले नेपालको कर्मचारीतन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सडकको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभएकाे छ । सिंहदरबारमा बसेर बनाइने अव्यावहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै उहाँले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग गर्नुभयो ।

ध्यक्ष सिटौलाले काठमाडौं उपत्यकामा मात्रै २३ लाख मोटरसाइकलसहित करिब २६ लाख सवारी साधन गुड्ने भएता पनि ती सवारी गुड्ने पर्याप्त सडक र पूर्वाधार नभएको उल्लेख गर्नुभएकाे छ । पूर्वाधार व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारले सक्रियता देखाउनुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारको भूमिकाप्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष सिटौलाले प्रदेश सरकारहरू केवल राजनीतिक खिचातानी र सत्ताको खेलमा अल्झिएको टिप्पणी गर्नुभएकाे छ। सार्वजनिक यातायातको सुधारमा प्रदेश सरकारले कुनै ठोस कार्य गर्न नसकेको समेत उहाँले बताउनुभयो ।