काठमाडौं । कोशी प्रदेश स्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्र नेपालले हात पारेका छन् । दिक्तेलमा मङ्गलबार सम्पन्न खेलमा धनकुटाका सुमन श्रेष्ठलाई पराजित गर्दै नेपालले उपाधि उचालेका हुन् ।
नेपालले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोश्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । तेश्रो हुने सुनसरीका ललितबहादुर राईले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यसै गरी चौथो हुने मोरङका उमेश राई, पाँचौं हुने झापाका ज्वाला इम्बुङ, छैटौं हुने इलामका सुरेन्द्रकुमार राईले क्रमशः जनही ८ हजार, ७ हजार र ६ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाएका छन् । टपटेनमा सातौं हुने खोटाङ बुइपाका धीरेन राई, आठौं हुने खोटाङ बारापाखोखरीका खिलराज राई, नऔं हुने सुनसरीका किशोरदेव राई र दशौं हुने खोटाङ हलेसीका मेजर राईले क्रमशः जनही ५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएका छन् ।
त्यसै गरी महिलातर्फको खेलमा खोटाङ ऐसेलुखर्ककी कुशुम घिसिङ प्रथम घोषित भइन् । उनले ताप्लेजुङकी लिला सेनेहाङलाई पराजित गर्दै जित सुनिश्चित गरेकी हुन् । प्रथम हुने घिसिङले नगद ७ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र तथा दोश्रो हुने सेनेहाङले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएकी छन् । तेश्रो हुने खोटाङ हलेसीकी तपस्या कार्कीले नगद ४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएकी छन् ।
त्यसैगरी हिल च्याम्पियनमा ताप्लेजुङका ङिमा शेर्पा, खोटाङ प्रथम हलेसीका मनकुमार राई र दिक्तेल रूपाकोट मझुवागढी नगर प्रथम आयुस राई घोषित भएका छन् । उनीहरूले क्रमशः ४ हजार, ४ हजार ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । अण्डर १६ मा पञ्च मावि दिक्तेलका अभिशेख आचार्य र अण्डर १२ मा पनि पञ्च माविकै क्रिशल प्रधान विजयी भएका छन् । उनीहरूले क्रमशः ४ हजार र ३ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् ।
विद्यार्थीतर्फ पञ्च मावि दिक्तेलका राकेश राई प्रथम, दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका कमल राजभण्डारी दोश्रो र सरस्वती माविका सुशान्त राई तेश्रो भएका छन् । उनीहरूले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् ।
उक्त प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा नेपाल खेलकुद प्रतिष्ठानको आयोजना, कोशी प्रदेश बुद्धिचाल संघको सह–आयोजना, जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन र जिल्ला बुद्धिचाल संघ खोटाङ व्यवस्थापनमा भएको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यता, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईको विशेष आतिथ्यतामा प्रतियोगिताको समापन भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया