द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण

13 Shares

काठमाडौँ । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई मङ्गलबार छात्रवृत्ति प्रदान गरिएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्रछात्रालाई जनही रु १० हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।

विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त आर्थिक सहयोग प्रदान गरिएको हो ।

छात्रवृत्ति पाउने नौ जना विद्यार्थीमध्ये चार जनाले यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको सचिवालयले जनाएको छ ।

राहत पाउनेमा निकुञ्ज आसपासका पौपाण्डव, बघौडा, रैवा, बूढीराप्ती, मेघौली, केरुङ्गा, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति तथा मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति क्षेत्रका विपन्न एवं प्रभावित परिवारका बालबालिका छन् ।

स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो ।

छात्रवृत्ति वितरण गर्दै मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट पीडित बनेका र अधिकांश आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकाको शिक्षामा आर्थिक सहायताले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेको पीडाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न तथा प्रभावितलाई उचित राहत एवं क्षतिपूर्ति दिलाउन सरकार निरन्तर प्रयासरत रहेको बताए ।