जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँ: ओली

12 Shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।

आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै उनले पार्टीलाई सफलताको मार्गमा डोर्याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने स्पष्ट पारे ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गरे । विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र जनताको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताए ।

आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई सङ्घर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराए । उनले कतिपयले आफ्नो मृत्युको समेत कामना गरेको उल्लेख गर्दै अहिले आफू दृढ संकल्पका साथ देश र आन्दोलनको रक्षाका लागि उभिएको बताए । उनले पार्टीलाई बलियो बनाएर विधि र प्रक्रियाअनुसार आफू विश्राम गर्ने स्पष्ट पारे ।

उनले भने ‘हामी एमालेहरू सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दसैँ आएजस्तो आँगनमा निस्केर ‘दसैँ आयो’ भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै जनताका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारका हुनु हुँदैन । हामी जनतासँग नङ र मासुजस्तै एकाकार हुनका लागि जनताका बीचमा जानुपर्छ । हरेकले आफ्नो जिम्मेवारीको काम आफैँ गर्नुपर्छ ।

अहिलेसम्म मैले कमरेडहरूसँग अलि सघन ढंगले संवाद गर्न र कमरेडहरूको बीचमा पुग्न सकेको थिइनँ, यी सबै कारणहरूले। अब म फेरि स्वस्थ भएको छु, र अब म कमरेडहरूको बीचमा तथा नेपाली जनताको बीचमा फेरि पुग्नेछु । मलाई राम्ररी थाहा छ, कमरेडहरूले गएको पुस ३ गते मलाई अध्यक्ष छान्नुभएको थियो। महाधिवेशनका प्रतिनिधिहरूले मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो पयो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कसिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने भनेर होइन। त्यसका निम्ति होइन । जस्तोसुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको सङ्घर्षको नेतृत्व गर्नु हो। अप्ठ्यारो अवस्था आएकै छ भने त्यसको सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानिएको हो ।

त्यसकारण कमरेडहरूलाई कतै आशंका हुनसक्छ, मैले बीचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने । त्यो आशंका मनमा नलिनु होला । म अप्ठ्यारा परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउनेछु, पार्टीलाई सफलतामा पुर्याउने छु। त्यसपछि मात्र, विश्राम लिनुपर्ने अवस्था आएमा, पार्टीका आफ्नै विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने स्थिति बन्नसक्छ । कतिपयले अनेक कुरा भनेको धेरै भइसक्यो । ‘सिद्धियो, सिद्धियो’ भनेको पनि धेरै भइसक्यो। के–के भनेको पनि धेरै भइसक्यो।

अलिकति टाउको दुख्यो भने पनि, टाउको दुखेको थाहा पाएपछि ‘अब मर्छ, मर्छ’ भनेको पनि धेरै भइसक्यो । मर्ने छाँट त देखिँदैन, बरु । त्यसकारण म अब स्वस्थ छु । यस आन्दोलनलाई र अहिलेको परिस्थितिलाई मैले अत्यन्त गम्भीरताका साथ लिएको छु । यस परिस्थितिबाट पार्टीलाई, आन्दोलनलाई र देशलाई चुनौतीको सामना गर्दै अगाडि बढाउने मेरो संकल्प यथावत् छ ।’

अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने पनि बताए ।