आजको मौसम: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

7 Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा भने बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

यस्तै, सोमबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। सोमबार कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।