सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा चर्को आलोचना

19 Shares

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना भएको छ ।

राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहिन भएको टिप्पणी गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गरे ।

उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनका कुरा कागजमा मात्रै सीमित हुने खतरा रहेको बताए । देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उनको आरोप छ ।

नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गरे । उनले मुलुकको आर्थिक अवस्था, लगानी संकट, व्यवसायिक सुस्तता तथा आर्थिक वृद्धिमा आएको संकुचनजस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताए ।

नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए । उनले २०८१ र २०८३ सालमा प्रश्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रम दोहोरिएको आरोप लगाए ।

उनले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिएपनि नयाँपन नदेखिएको उल्लेख गरे । विगतमा गरिएका प्रतिवद्धताहरूको कार्यान्वयनको समीक्षा नगरी फेरि उही कार्यक्रम दोहो¥याइएको उनको भनाई छ ।

सांसद श्रेष्ठले नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समेटिएको उल्लेख गर्दै संविधान संशोधन कि सुधार भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताए । उनले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै हुनुपर्ने उल्लेख गरे ।

सांसदहरुले नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड दिए । साथै वर्तमान आर्थिक संकटलाई हटाएर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, नेपालमा नै रोजगारी सिर्जना गर्ने, गरिबी न्युनिकरण गर्नेगरि नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।