कम्युनिष्ट पार्टीका नेताहरू भन्छन्- ‘धक्का चानचुने छैन, तर हामी उठ्छौँ’

16 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलन ७७ वर्ष पूरा गरेर ७८ औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यस अवधिमा धेरै अप्ठ्याराहरू, विभाजनका पीडाहरू, एकताका उत्साहहरू र पराजयका चुनौतीपूर्ण क्षणहरूको अनुभव गरेको बताए ।

उनले पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य लगायतका संस्थापक नेताहरूप्रति सम्मान व्यक्त गर्दै शहीदहरू र योद्धाका परिवारजनप्रति श्रद्धा प्रकट गरे ।

उनले ६ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गने, युवा नेतृत्वलाई तलदेखि माथिसम्म प्राथमिकता दिने, गल्ती स्विकार्दै नयाँ सिराबाट पार्टी पुनर्गठन गर्ने, अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण र समाजवादी मोर्चा निर्माण गर्ने बताए । लेनिन जयन्तीको महत्वबारे चर्चा गर्दै प्रचण्डले साम्राज्यवादले फेरि युद्धको सहारा लिन खोजेको र विश्व तेस्रो विश्वयुद्धको सन्त्रासमा रहेको बताए ।

उनले रुस–युक्रेन, प्यालेस्टाइन–इजरायल युद्ध र इरान–अमेरिका तनावको चर्चा गर्दै कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय दायित्व थपिएकोमा जोड दिए ।

लेनिनको एक कदम अगाडि, दुई कदम पछाडि सिद्धान्तलाई उद्धृत गर्दै प्रचण्डले विगतका गल्ती कमजोरीहरूको आत्मचिन्तन भइरहेको बताए ।

उनले भने ‘हामीले जहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नै पर्दछ । गल्ती कमजोरीहरू सफा गर्ने अवसर पनि हो । जनताले हामीलाई घृणा गरेको होइन, सबक सिकाएको हो ।’

आगामी असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने योजना प्रचण्डले सुनाए । नयाँ युवाहरूलाई प्राथमिकता दिने र पुरानो पुस्ताले पनि नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्ने उनको भनाइ थियो । कम्युनिष्ट आन्दोलनको पुनर्गठनको नेतृत्व आफ्नो पार्टीले लिने उनले दाबी गरे ।

नयाँ भनिएका शक्तिहरूले प्राप्त गरेको जनमतलाई सम्मान गर्दै उहाँले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्था स्थापनामा कम्युनिष्टहरूको निर्णायक भूमिका नबिर्सन आग्रह गरे ।

उनले भने ‘नयाँ साथीहरूले यो कुरा ख्याल गर्नुपर्छ कि तपाईँहरू जुन संविधान भित्रबाट आउनुभएको छ, त्यो हिजोको जनयुद्ध र जनआन्दोलनको बलमा सम्भव भएको हो ।’

प्रचण्डले निराशालाई त्याग्न र छिट्टै आउने आन्दोलनको नयाँ लहरका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा, ७७ वर्षे इतिहासको निर्मम समीक्षा जरुरी: नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा रहेको बताए । वि.सं. २००६ साल वैशाख ९ गते कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहासलाई सम्झिँदै नेता नेपालले संस्थापकहरूको संख्याबारे जारी बहसलाई स्पष्ट पारे ।

उनले पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र निरन्जन गोविन्द वैद्यसँगै महिला नेतृ मोतीदेवीलाई पनि संस्थापक मान्नुपर्ने धारणा राखे ।

‘उपस्थितिको हिसाबले ४ जना भए पनि मोतीदेवी सहित ५ जनालाई नै संस्थापक मान्नुपर्छ, यसमा हामीले तथ्यको आधारमा एउटा निष्कर्षमा पुग्नै पर्छ ।’ उनले भने ।

पछिल्लो निर्वाचनको नतिजाले कम्युनिष्ट आन्दोलनलाई ठुलो धक्का दिएको नेता नेपालको विश्लेषण छ । कम्युनिष्ट आन्दोलन अहिले गम्भीर संकटमा उभिएको भन्दै उनले ७७ वर्षको समग्र सिंहावलोकन गर्नुपर्ने बेला आएको बताए । २०२६ सालमा पुष्पलालले १८ वर्षको सिंहावलोकन गरे जस्तै अहिलेको अवस्थामा समग्र कम्युनिष्ट आन्दोलन कसरी उकालो र ओरालोको बाटो हुँदै अगाडि बढ्यो भन्ने कुराको गहन समीक्षा जरुरी रहेकोमा उनले जोड दिए ।

असफलताबाट नआत्तिन आग्रह गर्दै उनले विश्व कम्युनिस्ट इतिहासको समीक्षा गरे । रुसी अक्टोबर क्रान्तिदेखि चीनको आर्थिक उत्थानसम्मको उदाहरण दिँदै

उनले भने ‘देङ सियाओपिङले अगुवाइ गरेपछि चीनले जसरी आर्थिक छलाङ मा¥यो, त्यो हाम्रा लागि प्रेरणा हो । आज चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्रको रूपमा उभिएको छ ।’

पराजयलाई विजयमा बदल्न नयाँ सिराबाट धुलो टकटक्याएर उठ्नुपर्ने माओत्सेतुङको भनाइलाई उनले उद्धृत गरे । वर्तमान सरकारले जनताको भावना बुझ्न नसकेको नेता नेपालको आरोप छ ।

उनले भने ‘मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिँदैन। जनतामा सन्तुष्टि छैन ।’

भ्रष्टाचार, विसङ्गति र बेथिति अन्त्य गर्न कम्युनिस्टहरूले नै पहलकदमी लिनुपर्ने भए पनि पहिले आफ्नै पार्टीभित्रको व्यक्तिवाद र स्वार्थलाई त्याग्नुपर्ने उनको धारणा थियो ।

पार्टी एकता र साङ्गठनिक सुदृढीकरणको काममा विलम्ब भएको उनले स्वीकार गरे । कार्यकर्ताहरूलाई ठोस जिम्मेवारी दिन नसकेको कुरालाई कमजोरीका रूपमा लिँदै अब छिट्टै कार्यविभाजन र संगठन एकीकरणको काम सम्पन्न गरिने आश्वासन दिए । इमानदार र निष्ठावान भएर अगाडि बढे मात्रै जनताको विश्वास जित्न सकिने उनको दाबी छ ।

नेता नेपालले कम्युनिस्ट पार्टी सधैँ राष्ट्रियताको पहरेदार भएको र देशभक्तिको झण्डा दृढताका साथ बुलन्द गर्नुपर्ने बताए ।

दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गरेर मात्रै समाजवाद सम्भव: उपाध्यक्ष बादल

नेकपा ९एमाले० का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतालाई परास्त नगरी समाजवादको लक्ष्य हासिल हुन नसक्ने बताए । उपाध्यक्ष बादलले २००६ सालमा रोपिएको कम्युनिष्ट आन्दोलनको बिरुवा आज विशाल वृक्षको रूपमा स्थापित भएको बताए ।

२००७ सालको राजनीतिक परिवर्तनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणसम्म एमालेले निर्णायक र नेतृत्वदायी भूमिका खेलेको उनको भनाइ थियो ।

उनले भने ‘आज नेपालको झन्डै दुई तिहाइ जनमत कम्युनिष्टहरूको प्रभावमा छ र नेकपा ९एमाले० यसको मूलधारको रूपमा स्थापित भएको छ ।’
पछिल्लो समय पार्टीले व्यहोर्नुपरेको चुनावी धक्काको विश्लेषण गर्दै उपाध्यक्ष बादलले १० औँ र ११ औँ महाधिवेशनको निष्कर्षलाई स्मरण गराउनु भयो । उहाँकाअनुसार आन्तरिक र बाह्य रूपमा दक्षिणपन्थी अवसरवाद र अराजकतावादलाई परास्त गर्न नसक्दा आन्दोलनले धक्का खाएको हो ।
उहाँले भन्नुभयो, ‘यदि हामी नयाँ विजय चाहन्छौँ र समाजवादी आन्दोलनलाई अघि बढाउन चाहन्छौँ भने दक्षिणपन्थी विसर्जनवाद र अराजकतालाई वैचारिक र साङ्गठनिक रूपमै परास्त गर्नैपर्छ ।’

एमाले धुलो टकटक्याएर पुनः उठ्छ, राष्ट्रिय राजनीतिको नेतृत्व गर्छ: उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनमा पार्टीले बेहोरेको धक्काबाट निराश नभई नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

एमालेलाई पुनः राष्ट्रिय राजनीतिको अग्रणी शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरे । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक सन्दर्भ र पार्टीले ७७ वर्षको यात्रामा प्राप्त गरेका उपलब्धिहरूको चर्चा गर्दै उपाध्यक्ष पौडेलले वर्तमान समयमा देखिएको निराशालाई चिर्दै पार्टी पुनर्गठनको अभियानमा जुट्न नेता–कार्यकर्तालाई आह्वान गरे ।

धक्का चानचुने छैन, तर हामी उठ्छौँ

सम्बोधनका क्रममा उपाध्यक्ष पौडेलले २०८२ साल फागुनमा सम्पन्न निर्वाचनमा भएको पराजयलाई नेपालको कम्युनिस्ट आन्दोलनकै इतिहासमा सबैभन्दा ठुलो धक्काको रूपमा स्वीकार गरे ।

‘यो धक्का र असफलता चानचुने छैन । तर एमालेको भविष्य सकियो भनेर चिताउनेहरूको कामना व्यर्थ हुनेछ । हामी धुलो टकटक्याएर उठ्छौँ र व्यवहारबाटै एमाले अझै शक्तिशाली छ भन्ने प्रमाणित गर्नेछौँ ।’ उनले भने ।

पौडेलले २०७२ देखि २०८२ सम्मको एक दशकको यात्रालाई गम्भीरतापूर्वक समीक्षा गर्ने बताए । झन्डै दुई तिहाइको शक्ति आर्जन गरेको पार्टी कसरी अहिलेको कमजोर अवस्थामा आइपुग्यो भन्नेबारे निर्ममतापूर्वक आत्मसमीक्षा गरिने उनको भनाइ थियो ।

उनले भने ‘हामी हाम्रा कमजोरीहरू केलाउनेछौँ, बाह्य र आन्तरिक कारणहरूको पहिचान गर्नेछौँ र जनताको आलोचनालाई शिरोपर गर्दै उनीहरूकै माझमा फर्किनेछौँ ।’

जनताको बहुदलीय जनवाद: सधैँ अनुमोदन हुनुपर्ने बाध्यता

जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ ९जबज० को सान्दर्भिकता चर्चा गर्दै पौडेलले यो केवल पदावली मात्र नभई मार्गदर्शन सिद्धान्त भएको बताए । जबजले एकपटक मात्र नभई बारम्बार र सधैँ जनअनुमोदित हुन सिकाउने भन्दै उहाँले एमाले निरन्तर जनताको विश्वास जितिरहने क्रान्तिकारी शक्तिका रूपमा रहने दाबी गरे ।

सरकारलाई चेतावनीस् प्रतिशोधको राजनीति मान्य छैन

उपाध्यक्ष पौडेलले वर्तमान सरकारलाई प्रतिशोध र पूर्वाग्रहका आधारमा शासन नगर्न चेतावनी दिए ।

‘प्रतिशोध शासन सञ्चालनको आधार हुन सक्दैन । यदि सरकार लोकतन्त्रका आधारभूत मूल्य र संविधानको विरुद्धमा गयो वा अधिनायकवादी बाटो रोज्यो भने नेपाली जनताले प्रतिवाद गर्नेछन् र त्यसको अगुवाइ एमालेले गर्नेछ ।’ उनले भने ।

उनले देशभरका पार्टी पंक्तिलाई आत्मविश्वासका साथ आ–आफ्नो जिम्मेवारीमा जुट्न आग्रह गरे ।

पोखरेलको उद्घोष: सत्तामुखी होइन, जनतामुखी एमाले बनाऔँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अब केन्द्रमुखी र सत्तामुखी मानसिकताबाट मुक्त भएर पूर्ण रूपमा जनतातिर फर्कनुपर्ने बताए । उनले पार्टीको पुनर्जागरणका लागि नयाँ सङ्कल्प र जनतामुखी कार्यदिशाको खाँचो रहेको औँल्याए । पुष्पलाल श्रेष्ठदेखि मदन भण्डारीसम्मको योगदानको चर्चा गर्दै पोखरेलले २००६ सालमा स्थापना भएको पार्टीले नेपाली सर्वहारा वर्गको मुक्तिका लागि ऐतिहासिक कार्यभार पूरा गर्दै आएको बताए ।

विशेषगरी जननेता मदन भण्डारीले अगाडि सार्नुभएको ‘जनताको बहुदलीय जनवाद’ ९जबज० ले नेपाली क्रान्तिलाई मौलिक दिशा प्रदान गरेको र आजको लोकतान्त्रिक परिवेश त्यसकै जगमा उभिएको उनको दाबी थियो ।

आम निर्वाचन २०८२ को परिणाम एमालेका लागि अनपेक्षित रहेको स्वीकार गर्दै महासचिव पोखरेलले पार्टी र जनता बीचको संवादमा खाडल देखिएको स्वीकार गरे ।

‘हामीले विकास र देशभक्तिका ठुला कुरा ग¥यौं, तर जनताको दैनिक जीवनका अभाव, स्वास्थ्य र शिक्षामा रहेको असमानतालाई गहिरो गरी बुझ्न सकेनौँ,’ उनले भने ।

महासचिव पोखरेलले पछिल्लो समय पार्टीबाट चारवटा क्षेत्र अलग भएको निष्कर्ष सुनाए । युवा पङ्क्ति, सहरिया मध्यम वर्ग, प्रवासी नेपाली, र भूमिहीन सुकुम्वासीहरू पार्टीबाट टाढिएको उनको भनाइ छ । यी वर्गलाई जोड्न पार्टीले नीति बनाए पनि व्यवहारमा उतार्न नसक्नु मुख्य कमजोरी रहेको उनले औँल्याए ।

नयाँ शक्तिहरूलाई ‘लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद’ को प्रतिबिम्ब भन्दै उनले यस्ता शक्तिहरूको उदय जति छिटो हुन्छ, पतन पनि त्यति नै छिटो हुने तर्क गरे । यो छोटो समयको बाढी जस्तै भएको र सङ्घर्षबाट खारिएका दलहरूको अगाडि यस्तो अराजकता टिकिरहन नसक्ने उनको भनाइ थियो ।

आगामी बाटो: सत्तामुखी होइन, जनतामुखी

अबको एमाले केन्द्रमुखी होइन, ‘जरा केन्द्रित’ हुनुपर्ने र प्रत्येक नेता–कार्यकर्ताले आफ्नो जीवनशैली र आचरणमा सुधार ल्याउनुपर्ने उनको निर्देशन थियो । अनुशासन र एकतालाई नै पार्टी सुदृढीकरणको आधार बनाउनुपर्ने उनले बताए ।