स्वचालित भाडा समायोजन र निजी सवारीमा जोरबिजोर प्रणाली लागू गर्न व्यवसायीको माग

44 Shares

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेकाे छ।

महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले संचारकर्मीसँग कुरा गर्दै यस्तो माग गर्नुभएको हो । पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा समेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उहाँको भनाइ छ । उहाँले डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमा समेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गर्नुभयो ।

 

वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उहाँको जिकिर छ । उहाँले हवाई क्षेत्र र नेपाल आयम निगमजस्तै स्वचालित भाडा समायोजन प्रणालीको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमो मूल्यमा गिरावट आउँदा सरकारले सोहीअनुसार मूल्य समायोजन गर्दापनि व्यवसायीलाई स्वीकार्य भएको पनि बताउनुभयो ।

कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गर्नुभएकाे छ । उहाँले सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उहाँको भनाइ थियाे । उहाँले सरकारले सातामा दुई दिन बिदा दिने निर्णयको समिक्षा गर्नुपर्नेमा उहाँको जोड छ ।

कार्यवाहक अध्यक्ष सिटौलाले इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव समेत दिनुभयो । उहाँले इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमा समेत सहज हुने उहाँको बुझाई छ ।

कार्यवाहक अध्यक्ष सिटौलाले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने उहाँको चेतावनी छ । उहाँले सार्वजनिक यातायातलाई प्रविधिमैत्री, क्यासलेस र जिपिएस प्रणालीमा लैजान आवश्यक रहेको पनि बताउनुभयो ।