काठमाडाैं । समाज कल्याण परिषद् अन्तर्गत भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ र भवनहरूको करोडौँ रुपैयाँ भाडा उठ्न बाँकी रहेको पाइएको छ।
परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कहलिएका संघ–संस्था, मिडिया क्लब र राजनीतिक संगठनहरूले लामो समयदेखि भाडा नबुझाई वक्यौता राखेका छन्। यसैक्रममा सोमबारबाट भाडा नबुझाउने स्टलहरूमा परिषद्ले ताल्चा लगाउन थालेको छ।
तथ्याङ्कअनुसार सबैभन्दा धेरै वक्यौता राख्नेमा मिडिया र सामाजिक संस्थाहरू अगाडि देखिएका छन्। रिपोर्टर्स क्लब नेपाल ले स्टल नं. २२ को मात्रै ७३ लाख ४० हजार ९०१ रुपैयाँ ७५ पैसा भाडा तिर्न बाँकी छ भने नेपाल पत्रकार महासंघ को नाममा स्टल नं. ७ को ३३ लाख ७ हजार ४२१ रुपैयाँ ६५ पैसा वक्यौता देखिएको छ।
राजनीतिक दल निकट संगठनहरूले पनि सरकारी सम्पत्ति प्रयोग गरेर भाडा नतिरेको पाइएको छ। अनेरास्ववियु ले स्टल नं. ६० र ६१ को भाडा २०७७ साल चैतदेखि नबुझाएको विवरणमा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ ले १ करोड १६ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। सबैभन्दा ठूलो बक्यौता भने काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज को नाममा देखिएको छ, जसले दुईवटा स्टलको गरी १ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी राखेको छ।
परिषद्ले अब बक्यौता उठाउन कडाइ गर्दै नबुझाउनेहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया