सेती नदीमा कुकुर खसाल्ने महिला पक्राउ

9 Shares

सुदुरपश्चिम । बझाङमा सेती नदीमा कुकुर खसालेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा घटना सम्बन्धी भिडियो व्यापक रूपमा फैलिएको केही दिनपछि प्रहरीले संलग्न महिलालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–३ निवासी ४२ वर्षीया विमलादेवी रोकायालाई बिहीबार दिउँसो आफ्नै घरबाट पक्राउ गरिएको हो । हाल उनलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केही दिनअघि जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलबाट एक कुकुरलाई सेती नदीमा खसालिएको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा देखिएको घटनापछि पशु अधिकारकर्मी तथा सर्वसाधारणले दोषीमाथि कारबाहीको माग गरेका थिए ।

घटना सार्वजनिक भएसँगै प्रहरीले भिडियोको आधारमा अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरिएको जनाइएको छ ।

कुकुरलाई नदीमा खसाल्नुको कारण र त्यसपछिको अवस्थाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित कानुनी पक्षबारे समेत आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ ।