काठमाडाैं । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्टसहित उल्लेख्य जग्गा, नगद र शेयर लगानी रहेको देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार वाग्लेसँग ललितपुरको सानेपामा करिब २ करोड मूल्य बराबरको अपार्टमेन्टसहित १२८४ वर्गमिटर क्षेत्रफलमा फैलिएका चारवटा घर रहेका छन्।
त्यसैगरी, ललितपुरको भैँसेपाटीमा ५ करोड मूल्यको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट र तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलको घर रहेको छ। उनले यी सम्पत्ति अन्तर्राष्ट्रिय रोजगारी, निजी सम्पत्ति बिक्री, बैंक ऋण र व्यक्तिगत सापटीबाट आर्जन गरेको उल्लेख गरेका छन्।
जग्गातर्फ गोरखा नगरपालिकामा ५ रोपनी र तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा रहेको छ। परिवारका सदस्य जीवनराज वाग्लेको नाममा पनि काठमाडौं, गोरखा र चितवनमा उल्लेख्य जग्गा रहेको विवरणमा देखाइएको छ।
वाग्लेसँग ४५ तोला सुन रहेको छ भने हिमालयन, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात रहेको छ।
शेयर लगानीतर्फ उनले जलविद्युत र बैंकिङ क्षेत्रमा ठूलो लगानी गरेका छन्। सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता शेयर रहेको छ। साथै, नेशनल फण्ड म्यानेजमेन्ट, ठूलो खोला र अपर मादी खोला जलविद्युत आयोजनाहरूमा क्रमशः ९० लाख, ६० लाख र ३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ।
सम्पत्तिसँगै उनको ऋण विवरण पनि सार्वजनिक गरिएको छ। उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख र ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ ऋण लिएका थिए। तीमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋण चुक्ता भइसकेको छ।
यसका साथै उनले २ करोड ५० लाख रुपैयाँ व्यक्तिगत सापटी लिएको विवरणमा उल्लेख गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया